दरबार भित्र वरालिदा

                                                                             अधिवक्ता- कृष्णराज अधिकारी

         झण्डै एक वर्ष यता देखि म देश दर्शनको यात्रामा निस्किएको थिइन । खानपीन र बसाइमा बाहिरफेर त्यति सहज नहुने र स्वास्थ्यको कारण पनि घर छोड्न त्यति मन छैन । तर यस पटक भने मलाइ बाध्यता पर्यो । नेपाल मानव अधिकार संगठनले २०८० साल माघ २९ गते पाल्पाको तानसेनमा राष्ट्रिय सम्मेलन राखेको कारण र म धादिङको जिल्ला सभापति भएकाले उक्त सम्मेलनमा भाग लिन अनिवार्यता रह्यो । धादिङ शाखाका प्रतिनिधि साथीहरु सचिव इश्वर थापा मगर र कोषाध्यक्ष कृष्ण बद्री पौडेलका साथ हाम्रो सहभागिता हुने भयो ।

एक काज दो पन्थ भने झै हाम्रो लक्ष्य सम्मेलनमा भाग लिनु मात्र नभै बिभिन्न सडक र गाउं शहरहरुको अवलोकन भ्रमण गर्नु पनि थियो । हाम्रो पश्चिम नेपालको यात्रा २०८० माघ २८ गते नारायणगढ , बुटवल हुंदै फर्कदा पोखरा मुग्लिनको बाटो आउने तीन भाइ वीच सल्लाह भयो । सोही सल्लाह अनुसार हामी २८ गते माघ एकाबिहानै धादिडबाट नारायणगढ तर्फ लाग्यौ । नवलपरासीको गैडाकोट देखि बुटवलसम्मका कालोपत्रे सडक भत्किएका रहेछन् । दुर्गम वस्तीका सडक जस्तै धुलाम्यै । स्वास फेर्न पनि कठीन अनि यात्रुहरु धुलाम्य । झण्डै २०० कि.मी. को सडकमा  पुन:निर्माण कार्यको थालनी भएता पनि काम गर्ने जनशक्ति भने ज्यादै न्युन । हामीले त ४०,५० जना भन्दा बढी न त काम गर्ने जनशक्ति देख्यौ न त प्रयाप्त निर्माणका सवारी साधन नै । ठेकेदारलार्इ भने हाइसन्चो । राज्य निधाए जस्तो  ।  यस्तो पनि एशियन हाइ वे हुन्छ ? मनमनै सोचे । भएको सडकलाइ समयमै मर्मत सुधार गर्न नसक्ने ले केको पूर्व पश्चिम छुकछुके रेलको कुरा गर्नु ? त्यस माथि पानी जहाज पनि रे ? नेता जीहरुको गफ लगाउने पनि सीमा हुन्छ नि ?

माघ २८ गते बुटवलमा बास बसि हामी ३ भाइ २९ गते बिहानै पाल्पा तर्फ लाग्यौ । जति उकालो सडक चढ्दै गयो त्यति नै पाखा पखेराका पारीलो घामले हामीलाइ स्वागत गरीरहेको थियो । तानसेन घमाइलो जता निरमायां उतै रमाइलो…… , डाडा पाखाका अत्यन्त रमणीय थिए । बिहान ६ बजे बुटवलबाट सुरु गरेको यात्रा १० बजे तानसेन बसपार्क गै टुङगियो। हामीले साथमा लगेका लगेजहरु होटल क्राउनको काउन्टरमा दिइ हामी भने  सरासर सम्मेलन कक्ष तिर लाग्गौ । नाम दर्ता र रजिष्ट्रेशन गरी हामी खानाको खोजीमा लाग्यौ ।

बिहानको खाना पश्चात हामी भने सम्मेलन कक्ष तिर न गै तानसेन दरबारको अवलोकन गर्न हिंड्यौ । माओवादी द्धन्दको समयमा दरबारमा अगलागी भै पूर्ण क्षति भएको थियो । तर यस पटक हामी पुग्दा दरबारले पुन:निर्माणको अन्तिम रुप लिइ सकेको रहेछ । हामीलाइ पनि बेसै भयो । दरबार अवलोकन गर्ने आगन्तुकहरुका लागि निश्चित नियम पालना गर्दै तोकिएको शुल्कको टीकट काट्न पर्ने रहेछ । दरबार भित्रको बिभिन्न अवलोकन कक्षहरुमा सीसी क्यामरा जडान गरी रेखदेखको लागि सुरक्षाकर्मी पनि खटाइएको रहेछ । जुन कुरा मलार्इ पछी मात्र थाहा हुन आयो ।

साथीहरुको साथमा म संगसंगै दरबार भित्र प्रवेश गर्दै थिएँ । त्यही बेला मलार्इ घरबाट अर्चनाले फोन गरिन । उनीसंग सन्चो बिसन्चो भलाकुसारी र यत्राको कुरा गर्दैमा ५,६ मिनेट बितेछ । म सगै आएका साथीहरु कता जानुभयो मलार्इ थाहा भएन । मलार्इ टिकट काउन्टरकी बैनीले तपाइको साथीहरु त भर्याड चढी माथि कोठा तिर जानु भएको छ भनि इसारा गर्नु भयो । म भने यो कोठा र उ कोठा गर्दा गर्दै बल्ल बल्ल साथीहरुलाइ भेटें । चिटचिट नै पसीना आयो नी ! त्यस दिन दरबार भित्र अवलोकन गर्ने हामी मात्र थियौ कि जस्तो लाग्छ । दरबारका कोठाहरुलार्इ संग्रालयको रुपमा परिणत गरीएको रहेछ । हाम्रा राष्ट्रिय विभूतीहरु र तिनका पहिरन भेषभूषा, राजा महाराजाहरुका तस्विर, ऐतिहासिक सिक्काहरु, हातहतियार र खरखजाना लगायतका वस्तुहरु हेर्न लायकका देखिन्थे ।

कतै थारु संग्रालय , कतै धिमाल संग्रालय कतै भने मगरहरुको पहिचान जनाउने मगर संग्रालयहरु थिए । यसरी विभिन्न जातजातीहरुको छुट्टा छुट्टै संग्रालय जति हेरे पनि हेरुं हेरुं लाग्ने । ऐतिहासिक खोज अनुसन्धानमा लाग्नेहरुका लागि अति नै उपयोगि । यस्तै विभिन्न जातजातीका संग्रालय कक्षमा रमाउदा रमाउदै हामी खस आर्य संग्रालय तर्फ अगाडी बढ्यौ । यस कक्षमा त बिबाहको मण्डप नै तयार गरीएको रहेछ । एकातर्फ बिबाह मण्डपमा नव विवाहित वर वधु , अर्कोतर्फ यज्ञ कार्य गराउने पाठ पढीरहेका पण्डित बाजे । त्यसै गरी एक किनारामा झ्यार्इ झ्यार्इ पन्चे बाजा घन्की रहेको थियो भने यज्ञ झिलिमिलि तोरण र बत्तिले सिंगरीएको थियो । त्यहाँ दर्सक भने हामी तीनजना मात्रै । मन त्यसै त्यसै फुरुड्ग हुन थाल्यो । खुट्टाले बाजाको ताल समार्इ सकेको थियो । म सोधी खोजी नै नगरी छमछम नाच्न थाले । एकजना साथीले भिडियो बनाउन लाग्नु भयो अर्कासाथी पनि म संगै छमछमी नाच्न सुरु गर्नु भयो । आहा कति रमाइलो ! जति नाचे पनि धितै नपुग्ने ।  झण्डै आधा घण्टासम्म  पसिना नै चल्ने गरी नाचिएछ । आफुले जानेको गीत पनि गायौ , खुट्टा पनि घुमायौं । यस पछी हामी अन्य कक्षहरुको भिडियो खिच्दै एक आपसमा अन्तर्वाता लिदै अगाडि बढी रहेका थियौ , त्यतिकैमा हामीलार्इ दरबार भित्र खटीएका सुरक्षाकर्मीले रोके । उनले पहिले देखिनै हाम्रो गतिविधि सि.सि.क्यमरावाट निगरानी गरिरहेका रहेछन् । उनी कराउदै हामी तर्फ आए । म भने हामीले के नै नचाँहिदो गरेका छौ र किन कराएका होलान भनि दड्ग परें । पछी कुरा बुझ्दा त दरबार भित्र फोटो खिच्न , भिडियो बनाउन र होहल्ला गरी हिड्न निषेधित रहेछ । आफ्नो साथमा भएको मोवाइल समेत उहीं तल काउन्टरमा छोडि आउन पर्ने रहेछ । हामीलार्इ बेस्सरी झपारे । म लाज सरमले भुतुक्कै भएं । संगै गएका साथीहरुले यसबारे मलार्इ केही बताउन भ्याएका थिएनन् ।

सम्मेलन पश्चात हामी आर्यभन्ज्याड , राम्दीपुल हुदै पोखरा तर्फ लाग्यौ । यत्रा अवधीभर हाम्रो गाडीले गीतहरु बजाएर मनोरन्जन दिइ रहेको थियो । यत्रुहरु गीतमै रमार्इ रहेका थिए । तर मेरो मनमा भने दिउंसोको दरबार भित्र त्यो अन्जान रोचक घटना एउटै कुराको खुल्दुली मच्चिरह्यो । जुन ठाउंमा प्रवेश गर्न पास टिकट लिनु पर्ने , फोन क्यामरा समेत साथमा लैजान निषेध गरीएको थियो मैले भने बिभिन्न फोटोहरु र भिडियो खिच्न , नाच्न गाउन मै तल्लिन भएछु । मेरो लै लै मा साथीहरु समेत लाग्नु भएछ । जे जे गर्न नहुने हो ती सबै कुरा भएछन् । कस्तो अचम्म ! धन्न खटिएका सुरक्षाकर्मीले मोवाइल खोसेनन् । यत्रो उमेर खाएर पनि केही नजान्ने अबोध बालक जस्तै बन्न पुगें । म यस्तै यस्तै कुराहरु खेलाउदै कहिले रोमान्चित त कहिले लज्जित हुने गर्दथें । कति बेला पोखरा आइपुग्यो पत्तै भएन ।……………..

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0