धादिङ । धादिङमा जेठ १३ गतेदेखि आइ.पि.भी (पोलियो) खोप अभियान संचालन हुने भएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेठ १३ देखि जेठ २६ गतेसम्म २ चरणमा खोप अभियान संचालन हुने भएको हो ।
धादिङबेसीमा सम्पन्न जिल्ला खोप समन्वय समिति र संचारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका १२ हजार ७ सय ९० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनस्वाथ्य कार्यालय धादिङका निमित्त प्रमुख विभु कुमार झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ४ सय ८० वटा विद्यालयमा खोप केन्द्र रहने गरी अभियान सञ्चालन हुने छ ।
विशेष गरि २०७३ देखि २०७५ काे बिचमा जन्मेका बच्चाहरूलाई लक्ष्यित गरि दुई चरणमा सञ्चालन हुने खाेप कार्यक्रममा पहिलो चरणमा जेठ १३ गतेदेखि १७ गतेसम्म धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी, गजुरी, बेनीघाट रोराङ, रुवीभ्याली, खनियावास, गङ्गाजमुना र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने छ भने दोस्रो चरणको अभियान नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा संचालन हुने झाले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समितिको अध्यक्षको नवराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा समन्वय समितिका उप प्रमुख कुलमान विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झा लगाएतको उपस्थिति रहेको थियो ।
नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।






