भूत कज्याइँ
अधिवक्ता – कृष्णराज अधिकारी
कुनै जमाना थियो , साना साना बाबु नानीहरुले दुख दिई दिक्दारी बनाउँदा उनीहरूलाई अलमल्याउन पर्यो भने रोचक रोचक दन्त्यकथा भनिन्थ्यो । प्राय कथाहरूमा ठुलठुला दाह्रा भएका राक्षसका कथा, डरलाग्दा भूतको कथा , उड्ने मान्छेको कथा यस्तै यस्तै । बुढापाकाहरू पनि बेलुकाको खाना खाएपछि कथा कहानी सुनाउनु हुन्थ्यो । मलाइ कथा भनेपछि औधी मन पर्ने । त्यसैले प्राय म बेलुकाको खाना पछि चिसै हात लिएर कुनाघरे हजुरबा कहाँ जाने गर्दथेँ । जसरी खानालाई स्वादिलो अचार चटनीले बनाउँछ त्यसरी नै गफगाफलाई रोचक बनाउन कथा कहानी उखान चुट्किला भन्ने सिपले । बालबच्चाहरूलाई निदरी पार्न पर्यो भने र युवायुवतीहरुलाइ डराउने बनाउन यस्तै डरलाग्दा राक्षस र भूतकै कथा भनिन्थ्यो । अहिले जवाना फेरिएको छ , हाम्रो संस्कृति को क्षयीकरण हुँदै गइरहेको छ । अब यस्ता कथा कहानीको ठाउँमा हात हातमा रहेको मोबाइलले ओगटेको छ । मान्छे एकलकाँटे बन्दै गैरेकोले बिहान बेलुका छरछिमेक जम्मा भएर सुख दुखको कुरा गर्ने चलन हट्दै छ । मलाइ आज यो लेख तयार गर्दै गर्दा आफ्नै पर्खाले गरेका काम कुराहरूको याद आयो । भन्दा एकादेशको किंवदन्ती जस्तो लागे पनि अहिले सम्म जीवितै रहनु भएका बुढपाकाहरु हाम्रा जिजुबाजेहरुले भूतलाई समेत कज्याएर राख्नु हुन्थ्यो भन्नु हुन्छ ।

हाम्रो पुर्खाहरूको कुरा गर्दा बढो अचम्म र दन्त्य कथा जस्तो लाग्छ । जिजुबाजेहरु त दैवी शक्तिमा लीनहुन पनि सक्ने । तन्त्रमन्त्र र आयुर्वेद विद्यामा पनि निपुण । एक पटक जिजु हजुरबुबा को समयमा अहिलेको नीलकण्ठ ७ तल्लोवेशी स्थित कटहरे खेतमा असारमा सधैँ हिलो आली गर्न आफै जाने गर्नु हुन्थ्यो रे ! हरेक वर्ष घरमा आज खेतमा काम गर्ने खेतालाहरू आउँछन् घिउ खट्टे खाजा बनाइ दिनु भनी थुन्से भरी खाजा लिई कटहरे खेत झर्नु हुन्थ्यो रे । रातको समयमा थोपल खोलाको भुत्त्याहा रहबाट भूतहरू आइ हिलो आली गरीदन्थे रे ! बुढाले ल अब खाजा खान आऊ है भने पछि सबै रमाइ रमाइ जम्मा भएर खाजा खान्थे रे ! यसरी नै कटहरे खेतमा वर्षाको समयमा खेतको काम हुने गरेको थियो । एक पटक उहाँलाइ काम विशेषले गर्दा खेतमा हिलो आली गर्ने दिनमा अति आवश्यक काम परेर खेतमा जान सक्नु भएनछ । घरकी बुहारीलाई सबै काम अह्राइ खाजा लिएर खेतमा गई नजिकैको डुम्रीको रुखमा खाजा छोडी आउनु काम गर्नेहरूले आफै खाजा झिकी खान्छन् । तिमी सरासर घर आउनु भन्नु भएछ । बुहारीले पनि भने अनुसार नै गर्नु भएछ । तर ससुराले कसलाई काममा लगाउनु हुँदो रहेछ लुकेर हेर्नु पर्यो भनी साँझको समयमा त्यही डुम्रीको रुखमा चढी लुकी बस्नु भएछ । खोलाबाट भूतहरू आइ अरू बेलामा झैँ आ-आफ्नो जिम्माको काम गरेछन् । खाजा खान भनी खाजा राखेको ठाउँमा आइ सबै भूतहरू खाजा सुँघ्दै फर्कँदै गरेको देखेर अन्तर्यामी जिजुबाबुले भूतलाई किन के भयो खाजा खाउन भन्दा खाजा वरपर भएको कुरा दिने भए खान्छौ तर हामीलाई यसरी झुकाउन पाउँदैनौ भनी आड्डी लिए पछि बुढालाई भूतले कुनै अनिष्ट त गर्दैनन् भन्ने शङ्का लागेछ । वचनमा हारी सकेकोले हुन्छ खाजा वरपर जे छ खाओ भन्नु भएछ । एकै छिनमा खाजामा रगत मिसाउँदै चप्लाङचुप्पुलुङ गरी बिदा भई गएछन् । यिनीहरूले के उपद्रो गरे त भनी ध्यान मग्न भई हेर्दा आफ्नै बुहारी नानी रुखबाट भुईँमा लडी मरिरहेकी । भोलीपल्ट गाउँले मलामीहरू बोलाइ दाहसंस्कार गर्नु भएछ । त्यस दिनको आफ्नो बुहारी गुमाउँदाको पिडाले गर्दा पछि त खेत नै कुमाललाई दिनु भएको रे अनि भूतलाई बोलाउने काम पनि बन्द गर्नु भएछ ।
हाम्रा अर्का बुढा हजुर बुबा को पनि कहानी कम रोचक कहाँ छ र ? उहाँमा पनि दैवी शक्ति प्राप्त थियो रे । खेतमा हिलो आली गरेपछि हँसिया कोदालो कोदाली लगायतका सामानहरू त्यसै छाडी गाउँ जाने रे ! ती सामानहरू कसैले पनि चलाउन सक्दैनथे रे ! एक पटक त्यसै गरी बेसीको खेतमा कोदाली आलीमा गाडी छोडी घर फर्किनु भएछ । नलाङका एक जना झगडिया अड्डाको काम सकी थोपलखोलाको कटुन्जे जँगार तरी घर जान भनी त्यही खेतको बाटो झरेछन् । खेतको आलीमा सलक्क परेको कोदाली गाडेको देखेर घर लैजाने लोभ पलाएछ । कोदाली लैजान पर्यो भनी समाउन जाँदा रात भरी कोदालीको बिँड समाएको समाए भएछन् । हात नै फुत्काउन नसकेका । यो कुरा नन्दलाल बुढाले घरमै बसी थाहा पाउनु भएछ । अनि बिहानै खेतमा आइ बाबु अलि लामो हात गर्नु भएछ आइन्दा यस्तो काम नगर्नु भनेपछि हात फुत्काइ लाजले मुख छोपी कुलेलम ठोकेछन् । हजुर बुबा को पालामा पनि एक पटक तल्लोवेशी स्थित सुर्के खेतबाट केरा चोरी भएछ । यो कुरा थाहा पाइ बुढाहरू जम्मा भई केरा पाकेपछि लिन जाने निर्णय भई पछि एक भाइ छोरालाई राम कोटको कुमालको घरमा केराको घरी नै लागि पकाएको छ त्यहाँ गई बोकाइ लिई आउनु भन्नु भए अनुसार कुमालको घरमा गई सोधपुछ गर्दा केरा ल्याएको स्वीकार गरी घरी नै केरा बोकाइ नेवार पानी ल्याउनु भएको रे ! अहिले सम्म पनि बुढा पाकाहरू ठुलाघरेको घरको भकारीमा त नागले बेरिई राखेको हुन्छ एक्लै भकारीमा धान खन्याउन जान हुँदैन भन्ने गर्नु हुन्छ । यो कुरा हिजोआजका पुस्ताले विश्वास कसरी गर्ने ?, सुन्दा पनि बढो अचम्म लाग्छ , कस्तो दैवी शक्ति खै त त्यो शक्ति हामी मा ? अहिले हामीलाई आफ्नै घरका जहान परिवारलाई कज्याएर खुसी बनाइ राख्न कत्रो धौधौ छ , छैन त आश्चर्य !






