अधिवक्ता – कृष्णराज अधिकारी
तिजैको रहर गयो बरीलै
दशैंको रहर लाग्यो बरीलै
एका बिहानै प्याकुली सिंगार पटार गरेर भुण्टेको घरको आंगनिमा छमछम नाच्दै छे । प्याकुलीलार्इ आज संसारनै जितेको भान भैरहेको छ । नहोस पनि किन ? महिनौ देखि उसको इच्छा पुरा भएको दिन। अघिल्ला वर्षहरुमा बाटो भरी आ-आफ्ना बालबालिकाहरु बाबा आमाहरुसंग हात समाउदै नयां नयां लुगामा सज्जिएर ओहोर दोहोर गरेका देख्दा उसको मन कम्ता कुंडिएको थिएन । उ मनमनै आफूपनि त्यस्तै गर्न पाए कस्तो हुन्थ्यो भनि कल्पना गर्दथि । त्यसैले बेला बेला उ आमा बाबासंग दशैमा नयां लुगा , चिचि पापा किनिदिन भन्दै बेस्सरी झगडा गर्थि , रुन्थि , कराउथि ,भाडा बजाउथि तर उसको केहि सीप लाग्दैनथ्यो । अर्को दशैमा पक्का नयां लुगा र चिचि पापा किनिदिने बाचा गरी टर्ने गर्थे बाबाले । यसपालीको दशैमा भने प्याकुलीले नयां चप्पल र जामा लगाउन पाएकि छे !
“भूण्टे” प्याकुलीको मिल्ने साथी । उमेरले प्याकुली भन्दा २,३ वर्ष जेठो भएपनि खेल्दा , पढ्दा , स्कुल जांदा एक छिन पनि छुट्टीदैनन् यिनिहरु । भूण्टेका बा आमा पनि अफ्नो थात थलो छोडेर अर्कैको घरमा बसि खेती किसान गर्न भनि अएका । माटोमै श्रमको पसिना मुछी मोती फलाउने , माटोसंगै खेल्ने माटोसंगै रमाउने यही नै छ उनीहरुको दिनाचार्या ।
प्याकुलीको बाबा आमा पनि अन्तै गाउंबाट अएका । गाउंलेहरु उसको बाबालार्इ “रिट्ठे” भनि बोलाउने गर्दछन् । रिट्ठेले आफ्नै गाउंको नाता पर्नेकी बुढी भगाइ गाउं छोडी भागि आएको रे ! त्यसैले उ आफ्नो गाउं फर्किन नहुने भएकोले यतै अधिया खेती किसान गरी बसेको छ । रिट्ठे चढ्दो उमेरको केटो । उ संग बल छ , जोस जांगर छ ,सीप पनि छ । परेको बेला छरछिमेकलार्इ सहयोग पनि गर्छ । उ संग छैन त केवल धन दौलत , रुपिया पैसा । तै पनि मन भने ठूलै छ । रिट्ठेका बुढा बुढी पनि अर्कैको घरमा अधिया गरी बस्दै अइरहेका छन् । उनीहरुको एक मात्र छोरी छे “प्यकुली” ।
अरुलार्इ जस्तै खान लाउन ऐश आराम गर्ने रहर रिट्ठेमा पनि नभएको कहां हो र ? तर गाउं छोडी भाग्दा एक धरो लुगा ल्याउन पाएको हैन । आफू , बुढी र छोरी गरी ३ प्राणीको सास धान्नै पर्यो । विरामी पर्दा औषधिमुलो गर्नै पर्यो । सबै चाडबाडहरु पनि मनाउनै पर्यो । छोरीलार्इ स्कुल पढाउनै पर्यो । यि सबैका लागि चाहिन्छ त केवल धन ! तर उ संग त्यसैको सधैभरी अभावै अभाव छ ।
एक पटक रिट्ठेको घरमा बेठी पूजा परेछ । पूजाकै लागि भनेर कालो बोका पनि किनेर गोठमा बांध्यो । बजार बाट खानपिन र पूजा सामाग्री किनी जुटायो । वल्लो घर पल्लो घर , नसनाता आफन्त सबैलाइ बोलायो । सबै छिमेकी इष्टमित्रहरुलार्इ मासु पुलाउ खुवायो । बोत्तल का बोत्तल कोक फेण्टा पिलायो । आफ्नो जातकालाइ दारु पानी पिलायो । उसले सकेको गर्यो । सित्तैमा खान पाउदा गाउलेहरु पनि रमाउने नै भए । रिट्ठे भाइको गुण गान गाउंदै पेट सापि सापि खाए । कोही कोही त भन्दै थिए ” खाउ खाउ चैते खेतमा आली लगाउनु पर्छ यसपाली” ।
धन नभए पनि मन थियो रिट्ठेसंग । उ आफ्नो खेतको हिलोआलि गर्दा मालिक जस्तै बन्थ्यो । ज्याला दिएर काम लगाउने कम्ता को सोखिन हो र ? फ्रिजमा राखेको चीसो खाने कम्ता को रहर हैन उसलार्इ । त्यस्तै कालो चस्मा लगाएर बजार बजार मोटरसाइकलमा हुंइकिने पनि उत्तिकै शोख ।त्यसैलै उसले अनेक उपाय गरेर यि सबै शोखका कुराहरुलार्इ पुरा गरी छाड्यो । गोठमा लाहुरी भैसी पनि बाध्यो । हेर्दा हेर्दै रिट्ठेले झिलिमिलि पार्यो , गाउले छरछिमेकका अगाडि धुलो उडायो । उसका उडेका रहरहरु फक्रदै गयो । राम्रै लगायो मिठै खायो जहान परीवारलार्इ पनि खुवायो ।
दशैको फूलपातिको दिन आर्इ सकेको थियो तर रिट्ठेको घरमा बास थिएन । उधारो सामानको पैसा नतिरेको भन्दै साहुहरु झिसमिसेमै उसको घर घेर्न आइपुग्थे । सोधखोज गर्थे तर रिट्ठेको उधारो तिर्न सक्ने कुनै हैसियत थिएन । त्यसैले उसको लागि भाग्नु सिवाय अरु कुनै बिकल्प थिएन । त्यस दिन पनि घरमा साहु आएको थाहा पाइ रिट्ठे घर पछाडीको झ्यालबाट फाल हानि घारी घारी चम्पट कस्यो , खोलाको बगर पस्यो । हाय कस्तो बिडम्बना ! पछी बुझ्दै जांदा उसले बेठी पूजामा गरेको तामझाम, कालो बोका , पुलाउ तरकारी , मरमसला , गोठको भैसी ,टीभि फ्रिज, मोटर साइकल यी सबै उधारो मै ल्याएको रहेछ । भएका जिन्सी सामनहरु पैसा नतिरेको भनि साहुले सबै उठाइ लगे । हेर्दा हेर्दै रिट्ठेको घरमा दशैं हैन दशा भने भित्रियो । हिजोसम्म रिट्ठे जस्तो मनकारी र सहयोगी अरु कोही छैन भन्ने छिमेकीहरु आज बेइमानी बजिया रहेछ भन्दै कुरा काट्न थाले । छिमेकी भनेका त सित्तैमा पाउदा खान पाए मात्र आफ्नो हुने रहेछ जस्तो आभाष रिट्ठेको जहानमा पर्यो होला । कुनै छिमेकीले पनि दशैमा बांडीचुडी खाउला चिन्ता नगर भन्न सकेनन् । रिट्ठेको जहान मनमती दुइ जिउकी छे । चाडबाड कसरी टार्ने पुर्याउने चिन्तै चिन्ता । छरछिमेक कसैले ऐंचो पैंचो दिन खोज्दैनन् । हाय बिचरा रिट्ठे अनि उसको परीवार !






