•         ठुलो ठाउँ याने ठुलाबडाहरूले घटाउने ठुला काण्ड हुनसक्छ । राज्यको नियम कानुनको बर्खिलाप हुने गरी  घटाइएका यस्ता काण्डहरूले व्यक्ति या समुहलाइ फाइदा त होला तर देश र जनताका लागि भने कदापि राम्रो मान्न सकिन्न । त्यस्ता व्यक्तिहरूले इतिहासमा आफ्नो नाम कलङ्कित गराएका हुन्छन् । साना तीना काण्डहरू त गाउँघर तिर पनि हुने गर्दछ । त्यसको प्रभाव गाउँ,टोलमै सीमित हुने भएकाले खासै ठुलो घटना मानिँदैन र हल्ला खल्ला पनि कमै हुने गर्दछ । मानिस जन्म जात स्वार्थी र लोभी पनि हुन्छ रे ? स्वार्थ र लोभको मात्रा व्यक्तिमा कति छ भन्ने कुरामा भर पर्दछ ।  गाउँमा यस पटक आँटिकुटी काण्ड चलेछ । भन्दा पनि हाँसो उठ्छ अनि हल्का लाज पनि ।

       सानुकान्छाले भनेको उसको  गाउँमा टारी खेते हजुर बा का बुढाबुढी पनि बस्दछन् रे ! एक दिनको कुरा हो छोराछोरीलाई घर अंश दिने कि नदिने , दिए कति दिने भन्ने विषयमा पाखुरा सुर्कासुर्की परेछ । बुढाले रिसको आवेगमा आगो फुक्ने ढुङ्ग्रोले बुढीको नलीगाँठो सेकेछन् । के चाहियो र बुढी ऐया नि बा हो बुढो बजियाले मार्‍यो भन्दै सहर तिर बस्ने छोरा बुहारी कहाँ गई बस्छु , दसैँ मा पनि घर आउँदिन , अपराधी बुढा अब एक्लै बसेर खाऊ भन्दै बाटो तताइछिन् । बुढा अब घरमा एक्लै पर्ने भए । झन् यसपालिको दसैँमा घरका सबै जहान परिवार एकै ठाउँमा बसेर रमाइलो गरुँला भनेर छ महिना अगाडि देखि दाना पानी खुवाइ खसी पालेको त अब कोही पनि नहुने भयो भन्दै बुढालाई पिर परेछ । यसै रन्को मा नजिकैको छिमेकी फुरफुरे नाति केटालाइ मेरो खसी बेचिदेऊ अब म घरमा पाल्न सक्दिन भनेछन् । फुरफुरे नाति को जस्तो नाम त्यस्तै काम । गाई,भैँसी , खसी ,बोका किन्न बेच्न जे गर्दा पनि उसैलाई भन्ने गर्दछन् । मान्छे हलुको , दुइ पैसा आउँछ फाइदा हुन्छ भनेपछि बत्तिइहाल्छ । घरमा बुढाको खसी ल्याइ काट्न पाए केही समय खसीको पैसा पनि चलाउन पाउने खसी काटेको भाग आँटिकुटी मासु पनि हुने , फाइदै फाइदा । उसले तुरुन्तै गाउँभरि आफ्ना दूतहरु लाइ गाउँ भरी पठायो । ठुलो मुडुलो खसी काट्ने ढोल पिटायो ।

सानु कान्छा भन्दै थियो – “एक जना हल्कारा मकहाँ पनि आइपुगेको थियो । मैले हुन्छ भाग पुग्यो भने एक भाग पठाइ दिनु भन्दै अफिस तिर हिँडे । मैले खसी को त्यति धेरै चासो राखिन । म दिनभर आफ्नो काममै व्यस्त भएँ । बेलुका घर आउँदा फ्रिज भित्र प्लष्टीकको झोलामा मासु देखेँ । ए खसी काटेछन् खान पाइने भयो भन्ने मनमा लाग्यो । अरू के को मतलब ! भोली पल्ट बिहान यसो चोक तिर गएको त मुसुमुसु रुन्चे हाँसो हाँस्दै नेप्टेले भ्यायो भनिरहेका । एक जना दाइलाई के भ्यायो मनेको त सर नेप्टेले आँटिकुटी जति सर्लक्कै भन्छ । मैले त झनै कुरा बुझिन ” । अलि कुरा बुझिने गरी बताउन भनेको बल्ल उसले अघिल्लो दिनको बेलिबिस्तार लगायो । कुरा के रहेछ भने नि हजुर , त्यस दिन फुरफुरेको घरमा मादले , भैरे , सुर्कने मिलेर टारी खेते बुढाको घरबाट जोखाइमा खसी ल्याइ काटेका रहेछन् । पछि टोलीमा नेप्टे पनि समावेश भएछ । फुरफुरे घर बडारकुडार गर्ने, पानी तताउने, बेसार पानी बनाउने, खुँडा खुकुरी जम्मा गर्ने,अचानाहरू,त्रिपाल ओल्छ्याउने काममा व्यस्त रह्यो ।अरूहरू मासु टुक्रा टुक्रा बनाइ थुप्रा थुप्र भाग लगाउन मै व्यस्त भएछन् । मासुमा चल्ने मान्छेहरू पनि धेरै भएकाले आँटीकुटीको थुप्रो पनि ठुलै राखेछन् । आँटीकुटीको थुप्रो देखेर टारी खेते बुढाले अँधेरो अनुहार बनाएका थिए रे ? भन्न चैँ कसैलाई पनि केही भनेनछन् । त्यतिकैमा नेप्टे फोन कानमा लगाउँदै मलाइ घरमा भेट्न कोही आएका छन् रे म चैँ जान्छु भन्दै अगाडि अगाडि मासुको थुप्रा बाट एक भाग मासु र आँटिकुटी उठाइ लगेछ । अरूहरू लिस्टमा भएकाहरूको नाम रुजु गर्दै मासु बाँड्ने,भाग फोर्ने काममै व्यस्त रहेछन् । पछि सबैको भाग पुराए पछि आँटिकुटी मासु पनि भाग लगाउन पर्‍यो भनेको त थुप्रो सर्लक्कै घटेछ । नेप्टे बज्या ले खुर्लुप्पै पारेर भ्याएछ भन्दै बाँकी आँटिकुटी भाग लगाउँदा भैरेलाई कानको लोती , मादले,सुर्कनेलाई डुडीखुट्टाको टुक्रा अनि फुरफुरेलाई चैँ दुई मुठी रौतो र खसीको पुच्छर र दुई फिर्को कलेजो को टुक्रा । बाँकी रहेका उनीहरू बिच खैलाबैला चलेछ । कसैले नेप्टेलाई बेइमानी भने , कोही कोही नेप्टेलाई मासुको खालमा बसाउने को हो त्यसकै भाग बाट कट्टा गर्नु पर्छ भन्दथे रे ! सुर्कने र भैरे भने यस्ता झेलीहरू सबै चोर नै हुन् अब यो गाउँमा कसैले खसी काटाै भने पनि मरे नि आउने छैन भन्दै रातो अनुहार लगाउँदै घर लागे रे ! यता फुरफुरेलाई पनि कम्ता को तोड परेको थियो र ? आँटीकुटीमा सर्लक्कै पार्छु भनेर पैसा उठाउने देखि खसी काट्ने सबै जिम्मा लिएको मान्छे , त्यति जाबो रौतो र दुई फिर्का मासुमै कसरी चित्त बुझाउनु । उ म पैसा उठाउन सक्दिन यत्रो लागेको छ  भन्दै थियो रे !

       म पनि के कम ? भोली पल्ट हिजाे काे घटना पनि बुझ्नु पर्याे  अनि मासुकाे पैसा पनि बुझाउन पर्‍यो भनेर फुरफुरेकहाँ गएको त म त सक्दिन , खानु न पिउनु मलाइ के कर पो भन्छ ! जानोस् खसी धनी मै भन्यो । म खसी धनी टारी खेते बुढा कहाँ गएँ । मलाइ देखे पछि बुढा फतफताए। हैन के गरेको हो यो ? मासु पनि खर्लप्पै आँटिकुटी भनेर थुप्रो लगाउने अनि क कसले कति लगे मलाइ के थाहा ? म त यो पैसा लिन्न जाऊ त्यै फुरफुरे कहाँ भनी हकारे । हे फसाद अब कहाँ जाने ? अब त्यही नेप्टेकहाँ जान्छु के पो भन्दो रहेछ भनी गएको त उ पनि के कम ? ए रात्तै मलाइ के थाहा कसले के कति मासु उठायो ? फेरी म जमानी भएर मेरो घरमा खसी काटेको हो र ? मलाइ थाहा छैन तपाइ जता सुकै जानोस् पो भन्छ । मनमनै हाँसो उठ्यो पनि अनि सोचेँ ” ए गाँउमा त साँच्चै आँटीकुटीको राम्रै काण्ड चलेछ । ” हैन मलाइ के आइलाग्यो अब मासुको पैसा कसलाई बुझाउने हो ? कोही पनि लिन मान्दैन । मलाइ पो मासुको चिट्टा पर्‍यो कि क्या हो जस्तो पनि लाग्यो । बेलुका ओछ्यान मा पल्टिँदा पनि यही दिन भरीको सानुकान्छा काे कुराहरूलाई सम्झेर हाँसो उठ्यो ।  हैट कस्तो काण्ड हो यो ” आँटिकुटी काण्ड ” ! हैन कतै तपार्इ हाम्रो गाउँघरमा पनि यस्तै घटना घटेको त छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0