बद्री पौडेल
काठमाण्डौ , २७ जेष्ठ ,२०८३
मानव कल्याण, सामाजिक सेवा तथा परोपकारलाई केन्द्रमा राखेर आगामी असार ८ गतेदेखि १६ गतेसम्म काठमाडौंको पशुपति क्षेत्र (सुमार्गी भवन अगाडि) “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ” आयोजना हुने भएको छ।
“परोपकारको महाअभियान, मानव कल्याणका लागि हाम्रो सामूहिक योगदान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महायज्ञको मुख्य आयोजक लायन्स क्लब अफ काठमाडौं परोपकार र सह-आयोजक परोपकार जीवनदर्शन फाउन्डेसन रहेका छन्। धार्मिक चेतनासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको यस महायज्ञले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
महायज्ञकी संकल्पकर्ता एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले धर्मलाई केवल पूजा–आराधनामा सीमित नराखी मानव सेवासँग जोड्नुपर्ने बताएकी छन्।
परोपकारको महाअभियानलाई जनस्तरसम्म पुर्याउँदै सेवा, संस्कार र सहकार्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनु हाम्रो लक्ष्य हो। मानवताको हितमा गरिने प्रत्येक प्रयास नै साँचो धर्म हो,” पाण्डेले भनिन्।
धार्मिक अनुष्ठानलाई सामाजिक उत्तरदायित्वसँग जोडेर युवापुस्तालाई स्वयंसेवाको संस्कृतिमा प्रेरित गर्न आवश्यक रहेको बताउँदै उनले महायज्ञबाट संकलित सहयोगलाई शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक कल्याणका क्षेत्रमा परिचालन गरिने जानकारी दिइन्। सामूहिक प्रयासबाट मात्र दिगो विकास तथा समृद्ध समाज निर्माण सम्भव हुने उनको भनाई रहेको छ ।
महायज्ञ अवधिभर दैनिक रूपमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू सञ्चालन हुनेछन्, जसको रूपरेखा यसप्रकार छ:
महायज्ञ शुभारम्भ (असार ८ गते): बिहान ५:४५ बजे दिव्य विशाल कलश यात्रा गरिनेछ भने सोही दिन बिहान ११:३० बजे औपचारिक उद्घाटन कार्यक्रम हुनेछ।
दैनिक कार्यक्रम: बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म वैदिक पूजा, भागवत पाठ, भजन-कीर्तन, आध्यात्मिक प्रवचन तथा सम्मान कार्यक्रमहरू सञ्चालन हुनेछन्।
प्रमुख कथावाचिका: महायज्ञमा प्रसिद्ध एवं चर्चित कथावाचिका पूज्या देवी सुमी मानवद्वारा श्रीमद्भागवत कथा वाचन गरिनेछ।
पूर्णाहुति (असार १६ गते): असार १६ गते महायज्ञको पूर्णाहुति तथा कथा विसर्जन गरिने छ ।
यो महायज्ञ केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नभई सेवामूलक कार्यमा केन्द्रित रहनेछ। आयोजकका अनुसार महायज्ञ अवधिभर निम्नलिखित सामाजिक कार्यहरू सञ्चालन गरिनेछन्:
१. निःशुल्क स्वास्थ्य शिविर
२. रक्तदान कार्यक्रम
३. असहाय, विपन्न तथा पीडित वर्गका लागि खाद्यान्न तथा राहत वितरण
४. मानव सेवासँग सम्बन्धित विविध कल्याणकारी अभियानहरू
पशुपति क्षेत्रको आध्यात्मिक वातावरणमा आयोजना हुने यस महायज्ञले धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र मानवीय सेवाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। आयोजकले यस महाअभियानमा सक्रिय सहभागिताका लागि भक्तजन, समाजसेवी, उद्योगी–व्यवसायी, युवा तथा सर्वसाधारण सबैमा हार्दिक आग्रह गरेको छ।






