रावलकोट। पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा जारी ‘अवामी हकुक लङ मार्च’का क्रममा पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जना प्रदर्शनकारीको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग सम्बद्ध पक्षले दाबी गरेको छ। यद्यपि, पाकिस्तानी सरकार वा सुरक्षा निकायले यसबारे समाचार तयार पार्दासम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया दिएको छैन।

आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शी तथा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले सार्वजनिक गरेको भिडियो सन्देशअनुसार प्रदर्शनकारीहरूको काफिला चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले अन्धाधुन्ध गोली चलाएको आरोप लगाइएको हो।

असलमका अनुसार मृत्यु हुनेमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि रहेका छन्। साथै खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागीको पनि मृत्यु भएको उनले दाबी गरेका छन्।

घटनामा धेरै प्रदर्शनकारी घाइते भएको उल्लेख गर्दै असलमले विदेशमा रहेका कश्मीरी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गरेका छन्। उनले विश्वभरका पाकिस्तानी दूतावास, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध दर्ता गराउन र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अपिल गरेका छन्।

यसैबीच, मिरपुर र मुजफ्फराबाद क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध पारिएको पनि उनले बताएका छन्। सञ्चार सेवा बन्द रहे पनि आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने तयारीमा रहेको र पहिलो रात मकबूल भट शहीद चोकमै बिताउने योजना रहेको जनाइएको छ।

अर्का एक प्रत्यक्षदर्शीका अनुसार सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा अघि बढिरहेका प्रदर्शनकारीहरू रावलकोटको चाँदनी चोक पुगेपछि सुरक्षा बलले एक्कासि बल प्रयोग गरेको थियो। उनका अनुसार आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना आधारभूत अधिकारको मागमा केन्द्रित रहेको छ।

सार्वजनिक भएका विवरणहरू आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शी र जेएएसीका नेताहरूको दाबीमा आधारित छन्। घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको तथा पाकिस्तानी सरकार वा सुरक्षा निकायले हालसम्म कुनै औपचारिक पुष्टि वा खण्डन नगरेकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0