धादिङ, साउन १२ ,२०८३
धादिङबेसी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई लक्षित गर्दै खानेपानी महसुल अनलाइनमार्फत भुक्तानी गर्ने सेवा सञ्चालनमा ल्याएको छ।
समितिले साउन १२ गते जारी गरेको सूचनाअनुसार अब उपभोक्ताले eSewa तथा Khaiti एपमार्फत घरमै बसेर सहज रूपमा खानेपानीको महसुल तिर्न सक्नेछन्।
समितिका कार्यालय प्रमुख रमेश पौडेलद्वारा जारी सूचनामा अनलाइन भुक्तानी सेवा सञ्चालनमा आएको जानकारी दिँदै यससम्बन्धी थप जानकारी आवश्यक परे समितिको कार्यालयमा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।
अनलाइन भुक्तानी सेवाको सुरुवातसँगै उपभोक्ताले महसुल बुझाउन कार्यालयमा पुग्नुपर्ने तथा लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ। यस सेवाले समयको बचत गर्नुका साथै खानेपानी महसुल भुक्तानी प्रक्रियालाई थप छिटो, सहज र प्रभावकारी बनाउने विश्वास समितिले व्यक्त गरेको छ।






