धादिङ, साउन १० ,२०८३

धादिङको ज्वालामुखी गाउँपालिका–६ साँधभन्ज्याङस्थित मिलनटोलमा  साउन ८ गतेको रोपाइँमा सहभागी एक बालकसहित १५ जना एक्कासि बिरामी परेका छन्। प्रारम्भिक रूपमा खानाबाट हुने विषाक्तता (फुड पोइजन) वा विषादी मिसिएको पानीका कारण घटना भएको हुन सक्ने आशंका गरिए पनि वास्तविक कारण अझै पुष्टि हुन सकेको छैन।

ज्वालामुखी गाउँपालिका–६ का वडा अध्यक्ष किशोर सेढाई ले त्रिकोण खबरसँग कुरा गर्दै घटनापछि वडा कार्यालयले तत्काल गाउँपालिका, जनस्वास्थ्य कार्यालय र धादिङ अस्पतालसँग समन्वय गरी उपचार तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। उहाँले वास्तविक कारण प्रयोगशाला परीक्षण तथा प्राविधिक अध्ययनबाट मात्रै पुष्टि हुने भएकाले कसैले पनि अफवाह फैलाउन नहुने आग्रह   गर्दै केहीलाई चिकित्सकको परामर्शमा काठमाडौं पठाउन पनि सकिने बताउनुभयो ।

स्थानीय यानबहादुर मगरातीका अनुसार बिरामी हुनेमध्ये एक बालक, ६ पुरुष र ८ महिला रहेका छन्। उनीहरूमध्ये केही साउन ९ गतेदेखि र बाँकी साउन १० गते धादिङ अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। सबै बिरामीको निःशुल्क उपचार भइरहेको अस्पतालले जनाएको छ।

जानकारीअनुसार स्थानीय मिरा रम्तेलको खेतमा साउन ७ गते रोपाइँ गर्ने क्रममा सहभागीहरूले भात, कुखुराको मासु, तरकारी, अचार र चटनी खाएका थिए। साथै खेतमाथिको मुहानको पानी पनि पिएका थिए। खेतधनी मिरा रम्तेल स्वयं पनि बिरामी परेकी भए पनि आर्थिक अभावका कारण सुरुमा घरमै बस्नुभएको थियो। पछि धादिङ अस्पतालमा निःशुल्क उपचार हुने जानकारी पाएपछि आइतबार अस्पताल पुग्नुभएको हो।

स्थानीयका अनुसार उक्त मुहान आसपासको क्षेत्रमा साउन २ गते झार मार्ने विषादी प्रयोग गरिएको थियो। त्यसपछि रोपाइँ सम्पन्न गरी सोही मुहानको पानी पिएपछि रातिदेखि सहभागीहरूमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिन थालेका थिए। सुरुमा गाउँकै मेडिकलमा उपचार गरिए पनि अवस्था जटिल बन्दै गएपछि उनीहरूलाई धादिङ अस्पताल ल्याइएको हो।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. नवीन महासेठले बिरामीहरूमा देखिएको समस्या फुड पोइजन, विषादीयुक्त पानी वा अन्य कुनै कारणले भएको हो भन्ने विषय अझै पुष्टि नभएको बताउनुभयो। उहाँका अनुसार सम्भावित सबै पक्षलाई ध्यानमा राखेर उपचार भइरहेको छ र सबै बिरामीको अवस्था चिकित्सकीय निगरानीमा रहेको छ।

जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीले पालिकासँग समन्वय गरी घटनाको अध्ययन सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य प्राविधिक टोलीले आवश्यक नमुना संकलन तथा अनुसन्धान गरी वास्तविक कारण पत्ता लगाउनेछ।

यस्तै, ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले धादिङ अस्पतालसँग समन्वय गरी बिरामीहरूको उपचारमा सहजीकरण गरिएको र घटनाको विस्तृत अध्ययन गरिने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0