धादिङ । धादिङको धार्के सीतापाइला सडक १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएको हो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने उल्लेख छ ।
धार्के–ठूलोखोला सडक खण्ड अन्तर्गत सडक कालोपत्रे (Asphal Concrete) गरी स्तरोन्नति गर्न लागिएकाेले सडक बन्द गरिएको हो ।
“यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन(चारपांग्रे) बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोकिने हुदा बैकल्पिक मार्ग प्रयाेग गर्न सराेकारवाला सबैलाई जनकारी गराउदछाै” सुचनामा भनिएकाे छ ।
विकल्पको रुपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न सकिने समेत जिल्ला प्रशासन कार्यालय धादिङले सुचना मार्फत जानकारी गराएको छ ।







