ईश्वर थापा मगर
धादिङ – गत बर्षको चैत्र २७ गते आफ्नै घरको एट्याच बाथरुममा डोरीको पाँसो लगाई मृत भेटिएका चुडामणि कडेलको हत्यामा सम्लग्नहरुलाई धादिङ प्रहरीले आज सार्वजनिक गरेको छ ।
धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलको हत्या प्रकरणमा समावेश भएको भन्दै प्रहरीले आज ३ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङले घटनामा संलग्न तीन अभियुक्तलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन्। प्रजा वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ परेका थिए भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन्।
प्रहरी अनुसन्धान अनुसार, मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवालबीच सम्बन्ध राम्रो थिएन। यसैबीच कँडेलले आफ्नी श्रीमतीलाई हत्या गराउने उद्देश्यले घरमा बसी रहेका अक्कल बहादुर प्रजासँग २०८१ पुस महिनामा ४ लाख रुपैयाँको सुपारी सम्झौता गरेका थिए। उनले वार्षिक १ लाख १५ हजार रुपैयाँमा प्रजालाई घर भाडामा बस्न दिएका थिए।
प्रजाले सुस्मिताको हत्या गर्न पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई संलग्न गराएका थिए। उनीहरूले चार पटकसम्म प्रयास गरे पनि सफल नभएपछि कँडेलले दबाब दिन थालेका थिए। काम नभए पैसा फिर्ता गर्नुपर्ने अडानसहितको दबाबपछि रिसाएका अभियुक्तहरूले अन्ततः कँडेलको नै हत्या गर्ने योजना बनाएका थिए।
योजना अनुसार, उनीहरूले कँडेलको घरमै पुगेर हत्या गरेका थिए। प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको डोरी, कोदालो, अभियुक्तको कोठाबाट १ लाख नगद, कँडेलले दिएको पैसाबाट खरिद गरिएको जुत्ता, कपडा, कम्ब्याट हाफ पाइन्ट, र फुटाइएको रेडमी मोबाइलका टुक्रा बरामद गरेको छ।
तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।






