ईश्वर थापा मगर
धादिङ — नीलकण्ठ नगरपालिका–१, पात्ले डाँडामा अवस्थित शंखादेवी माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। निरन्तरको वर्षाले विद्यालयको खेल मैदानमा ठूलो भ्वाङ (खाडल) परेपछि सम्पूर्ण विद्यालय संरचना असुरक्षित बनेको विद्यालयकी प्रधानाध्यापक रञ्जना रिजालले जानकारी दिनुभयो।

साबिकको खाल्टे गाविसमा पर्ने यो विद्यालय पहाडको समथर भागमा रहेको भए पनि कमजोर भू–बनावटका कारण पानी पर्नेबित्तिकै जमिन भासिने समस्या देखिँदै आएको छ। “खेलमैदानभरि जताततै खाडल छन्, पानी पस्छ तर कहाँ निस्कन्छ, केही पत्तो हुँदैन। अहिलेको अवस्था हेर्दा विद्यालयको सम्पूर्ण भवन नै जोखिममा छ,” प्रधानाध्यापक रिजालले भन्नुभयो।

विद्यालयको प्राङ्गणमा खाडल पर्ने समस्या विगत तीन वर्षदेखि देखिँदै आएको हो। पहिलो वर्ष नीलकण्ठ नगरपालिकाबाट सामान्य मर्मत सम्भार भए पनि त्यसपछिका वर्षमा कुनै काम नभएको विद्यालय प्रशासनको गुनासो छ। “समस्या बारे नगरपालिकामा पटकपटक जानकारी गराएका छौं, तर ठोस पहल भएको छैन,” रिजालले थप बताउनुभयो।

खेल मैदानमै खाडल परेपछि विद्यार्थीहरूलाई खाजा खुवाउने, भेला गराउने लगायतका नियमित क्रियाकलापमा समेत कठिनाइ भएको छ। विद्यालय सञ्चालन नै जोखिममा परेपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरू चिन्तित छन्।

विद्यालय प्रशासनले स्थानीय सरकार तथा सरोकारवाला निकायहरूलाई तत्काल स्थलगत अध्ययन गरी आवश्यक संरक्षण र सुधारका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। यदि समयमा र्ममत सुधार नभए विद्यालयलाई ठुलो क्षति हुन सक्ने खतरा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
2