ईश्वर थापा मगर
धादिङ, – पशुसेवा कार्यालय धादिङले गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ। यही जेठ २३ गतेदेखि सुरु भएको खोप कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ।
पशुसेवा कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार किसानका गोठमै पुगेर खोप लगाउने व्यवस्था गरिएको छ। “गाई–भैसीको छालामा सानो पैसाजस्तो गाँठो देखिने, बिस्तारै शरीरभरि फैलिने यो रोग भाइरल हो,” ठाकुरले बताए। संक्रमित जनावरलाई टोकेको झिँगा वा लामखुट्टेको टोकाइबाट पनि रोग सर्ने भएकाले यो रोगको जोखिम उच्च रहेको उनले बताए।
खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाभर ४८ जना भ्याक्सिनेटर परिचालन गरिएको छ। खोप कर्ता आफ्नो टोलमा पुग्दा किसानहरूले सहकार्य गर्न पशुसेवा कार्यालयले आग्रह गरेको छ।
कृषकहरूको मागको आधारमा जिल्लामा २१ हजार डोज खोप ल्याइएको हो। तीमध्ये सबैभन्दा धेरै धुनीबेसी नगरपालिकामा ५ हजार ५ सय डोज खोप लगाउने तयारी रहेको डा. ठाकुरले जानकारी दिए।
खोप लगाउने कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ र पशुपालक कृषकहरूलाई सतर्क रहन तथा खोपका लागि सहयोग गर्न कार्यालयले अनुरोध गरेको छ।






