धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–४ मा सोमबार साँझ धारिलो हतियार प्रहारबाट एक जना विद्यार्थी घाइते भएका छन्।
आफ्नै घरको गेटमा अज्ञात समूहले आक्रमण गर्दा चिल्ड्रेन पार्क माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी सुलभ श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
घाइते श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइरहेको छ। उनको थाइमा गहिरो चोट लाग्नुका साथै अनुहारमा पनि चोट लागेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार साथीभाइबीचको झगडाको कारण आक्रमण भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






