धादिङ, २०८२ पौष ०४ , जिल्लाको सिद्धलेक गाउँपालिका–७ पोखरीमा ९२ वर्षीया वृद्ध महिलाको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पुस ३ गते राति करिब ९ बजे सोही स्थान बस्दै आएकी ९२ वर्षीया पबिमाया घले आफ्नै घरको पिँढीमा टाउकोमा गम्भीर चोट लागी रगतले लतपतिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङ तथा इलाका प्रहरी कार्यालय गुजुरीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय आइतराम घले घटनामा संलग्न रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मृतकका छोराले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

घटनाका सम्बन्धमा जानकारी दिँदै प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले मृतकको शव जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र घटनाबारे सघन अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0