काठमाडौं , १७ पौष।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ निवासी महेश रिजाल सुबिसु लिमिटेडको “Best Employee of the Year 2025” उपाधिबाट सम्मानित भएका छन्। सुबिसु लिमिटेडको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा कम्पनीले उहाँलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको हो।
सुबिसु लिमिटेडमा ११ वर्ष १० महिना २८ दिनदेखि निरन्तर सेवा प्रदान गर्दै आउनुभएका रिजाल हाल बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन्। उहाँको दीर्घकालीन समर्पण, प्रभावकारी नेतृत्व क्षमता तथा सेवामुखी कार्यशैलीको उच्च मूल्याङ्कन गर्दै कम्पनीले यो सम्मान प्रदान गरेको जनाएको छ।
सम्मान प्राप्त गरेपछि प्रतिक्रिया व्यक्त गर्दै रिजालले आफूलाई यो महत्वपूर्ण जिम्मेवारी र उपाधिका लागि छनोट गरिएकोमा अत्यन्त खुशी र गौरवान्वित महसुस भएको बताए। साथै, यस सफलतामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने भैरवी केबल धादिङ, त्रिशूली केबल नुवाकोट, होलिडे नेटवर्क्स गोरखा, मलेखु शाखा तथा अरूष केबल गल्छीका सम्पूर्ण सञ्चालक तथा टिमप्रति हार्दिक आभार व्यक्त गरे।
धादिङका एक कर्मठ, अनुशासित र प्रतिबद्ध पेशाकर्मीका रूपमा परिचित तथा लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष महेश रिजालको यो सम्मानले स्थानीय युवाहरूलाई निरन्तर मेहनत, पेशागत इमान्दारिता र संस्थाप्रतिको निष्ठाले राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।






