धादिङ । ज्वालामुखी गाउँपालिका वडा नं. ४ मा वडा कार्यालयले प्रदान गर्ने सेवासम्बन्धी जानकारी राख्न स्थापना गरिएको नागरिक वडापत्र हाल अलपत्र अवस्थामा देखिएको छ । वडा कार्यालयभन्दा केही टाढा स्थानमा राखिएको उक्त नागरिक वडापत्र च्यातिएको, फाटेको तथा पढ्नै नसकिने अवस्थामा पुगेको छ ।

नागरिकलाई सहज रूपमा सेवा, प्रक्रिया, आवश्यक कागजात, शुल्क तथा समयावधिबारे जानकारी दिन राखिने नागरिक वडापत्र प्रभावकारी रूपमा व्यवस्थापन नहुँदा सेवाग्राहीहरू अन्योलमा परिरहेका छन् । स्थानीयवासीका अनुसार वडा कार्यालयबाट कुन सेवा कसरी पाइन्छ भन्ने जानकारी लिन उनीहरू प्रत्यक्ष कार्यालय धाउन बाध्य छन् ।

वडापत्र राखिएको स्थान झाडीले घेरिएको तथा कार्यालय क्षेत्रभन्दा केही टाढा भएकाले सर्वसाधारणको पहुँचमा समेत छैन । कतिपय नागरिकले वडापत्र छ भन्ने कुरा नै थाहा नपाएको गुनासो गरेका छन् । “नागरिक वडापत्र भनेको सेवाको पहिलो सूचना हो, तर यहाँ त हेर्नै नमिल्ने अवस्थामा छ,” एक स्थानीयले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वडा कार्यालयले नागरिक वडापत्र अद्यावधिक र स्पष्ट रूपमा देखिने स्थानमा राख्नुपर्ने व्यवस्था छ । तर ज्वालामुखी गाउँपालिका वडा नं. ४ मा यो व्यवस्था व्यवहारमा कार्यान्वयन हुन सकेको देखिँदैन ।

नागरिक वडापत्रको यथोचित संरक्षण, मर्मत तथा कार्यालय परिसरमै राख्ने व्यवस्था नगर्दा पारदर्शिता र सुशासनमा समेत प्रश्न उठेको छ । सेवाप्रवाहलाई सरल र नागरिकमैत्री बनाउने उद्देश्यका साथ राखिने वडापत्र स्वयं उपेक्षित हुनु स्थानीय सरकारको कमजोरीका रूपमा लिइएको छ ।

यस विषयमा सम्बन्धित वडा कार्यालय र गाउँपालिका नेतृत्वले चासो दिएर तत्काल नागरिक वडापत्र मर्मत, अद्यावधिक तथा उपयुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0