धादिङ बेसी , १२ माघ २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
अन्तरक्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्दै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सञ्चारकर्मी सबैलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । उहाँले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिताले मात्र निर्वाचनको विश्वसनीयता कायम गर्न सक्ने उल्लेख गर्नुभयो ।
“मिडियाले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारितामार्फत निर्वाचनको विश्वसनीयता कायम राख्नुपर्छ । निष्पक्ष र उत्तरदायी सञ्चार नै लोकतन्त्रको आधार हो,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।
निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली, मतदान केन्द्र व्यवस्थापन, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षा व्यवस्थाका लागि धादिङमा ११ सय १५ जना नेपाल प्रहरी, ३ सय ५० जना सशस्त्र प्रहरी र २२ सय ६९ जना निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूले निर्वाचनसम्बन्धी रिपोर्टिङ, आचारसंहिता र सूचनाको विश्वसनीयताका विषयमा जिज्ञासा राखेका थिए ।






