धादिङ बेसी , १२ माघ २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङमा आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै पार्टीले संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको छ ।
नेकपा धादिङका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा जगत सिंखडाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचनलाई प्रभावकारी बनाउन पार्टीले धादिङका सातै स्थानीय तहमा जिम्मेवारी तोक्नुका साथै ६१ वटै वडामा वडा संयोजक र बुथ कमिटी गठन गरिसकेको जनाएको छ ।
पार्टीले विशेषगरी युवा परिचालन र संगठन विस्तारलाई अभियानको मुख्य आधार बनाएको छ । युवालाई राजनीतिक गतिविधिमा सक्रिय रूपमा जोड्दै घरदैलो अभियान, मतदाता भेटघाट तथा वैचारिक संवाद कार्यक्रमलाई तीव्र बनाइने बताइएको छ ।
नेकपाले स्थानीय मुद्दा, जनजीविका र विकासका सवाललाई केन्द्रमा राख्दै जनताको घरदैलोसम्म पुग्ने रणनीति अवलम्बन गरेको जनाएको छ । पार्टीले धादिङमा संगठनात्मक शक्ति मजबुत बनाउँदै निर्वाचनमा सशक्त उपस्थितिको लक्ष्यसहित अभियान अघि बढाइरहेको बताएको छ ।






