धादिङ। नेपाल मगर संघ ज्वालामुखी गाउँपालिका समिति को आयोजनामा ४४ औँ स्थापना दिवसको अवसरमा ज्वालामुखी–३ चक्रदेवी टोलमा फागुन १५ गते बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू संगिना मगर, पदम मगर, रोशनी राना मगर, विवश दर्लामी मगर लगायतको विशेष सांगीतिक प्रस्तुति रहने जनाइएको छ। साथै मगर समुदायको पहिचान झल्काउने मगर पञ्चेबाजा, कौह्रा लोकनृत्य तथा सालैजो नृत्य पनि प्रस्तुत गरिनेछ।

स्थापना दिवसलाई मगर समुदायको भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने अवसरका रूपमा मनाउन लागिएको अध्यक्ष कुल बहादुर झ्यारीले जानकारी दिनुभयो। कार्यक्रममा सम्पूर्ण समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले आह्वान गरेको छ।
नेपाल मगर संघ ज्वालामुखीका अध्यक्ष कुल बहादुर झ्यारी मगरका अनुसार सोही अवसरमा सञ्चालन भइरहेको ७ दिने वापा–मापा मगर पुरोहित तालिमको समापन कार्यक्रम समेत गरिनेछ।






