काठमाडौँ, १९ फागुनः नेपाली कांग्रेस ले पार्टी सभापति गगनकुमार थापा को तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘लालीगुराँस मिडिया नेटवर्क’ नामक संस्थाले आफ्नो फेसबुक पेजमार्फत अन्य व्यक्तिको तस्बिरमा सम्पादन गरी सभापति थापाको तस्बिर जोडेर भ्रामक सामग्री प्रकाशन गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सभापतिको तस्बिर प्रयोग गरी नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ कपोलकल्पित र भ्रम फैलाउने सामग्री सार्वजनिक गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यस्ता आधारहीन सामग्रीले आमनागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचनसम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको कांग्रेसको दाबी छ।
यस विषयमा आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम उक्त संस्थामाथि हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाल लाई आजै लिखित रूपमा जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।