काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तीन सातापछि अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना वरिष्ठतम् न्यायाधीशको नाम सिफारिस गरिएको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको हो। सिफारिस हुनेमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्।
हालका प्रधानन्यायाधीश राउत ६५ वर्षे उमेरहदका कारण आगामी १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति प्रक्रिया टुंग्याउनुपर्ने प्रावधान रहेको छ।
संवैधानिक परिषद्को सिफारिसपछि प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइ गरिन्छ र त्यसपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।
तर १७ चैतभित्रै संसदीय सुनुवाइ समिति गठन भई प्रक्रिया पूरा हुने सम्भावना कम देखिएकाले केही समयका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व सम्हाल्ने सम्भावना रहेको बताइएको छ।
कानुनी व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिसलाई अस्वीकृत गर्ने अधिकार पनि राख्ने व्यवस्था रहेको छ।






