धादिङ, फागुन २६

विज्ञान विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्दै वैज्ञानिक सोचको विकास गर्ने उद्देश्यले धादिङमा जिल्ला स्तरीय विज्ञान हाजिरजवाफ प्रतियोगिता आयोजना हुने भएको छ। विज्ञान शिक्षक समाज नेपाल, जिल्ला शाखा धादिङको आयोजनामा एसईई–२०८२ लक्षित उक्त प्रतियोगिता आगामी फागुन ३० गते शनिबार नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेसीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ। धादिङ जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको समूह सहभागी हुने यस प्रतियोगितामार्फत विज्ञान, सूचना तथा प्रविधि क्षेत्रमा विद्यार्थीहरूको रुचि बढाउने र एसईई परीक्षामा विज्ञान तथा प्रविधि विषयको नतिजा सुधार गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिता दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा पाठ्यक्रम र बाह्य क्षेत्रसम्बन्धी प्रश्नहरू समेटिनेछन्। सो चरणबाट उत्कृष्ट टोलीहरू छनोट गरी अन्तिम चरणमा प्रवेश गराइनेछ। अन्तिम चरणमा बजर राउन्ड, अडियो राउन्ड, भिजुअल राउन्ड, क्यू–कार्ड राउन्ड तथा र्यापिड फायर राउन्ड समावेश गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ६ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, द्वितीयलाई नगद ४ हजार ५ सय, तृतीयलाई ३ हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १ हजार ५ सय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ प्रतियोगितामा सोधिने प्रश्नमध्ये करिब ७५ प्रतिशत कक्षा १० को पाठ्यक्रममा आधारित रहने र २५ प्रतिशत विज्ञानसम्बन्धी बाह्य क्षेत्रबाट समेटिने जनाइएको छ। प्रश्नहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोधिने व्यवस्था गरिएको छ भने बाह्य क्षेत्रसम्बन्धी प्रश्नहरू नेपाली भाषामै प्रस्तुत गरिनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले तोकिएको मितिभित्र नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भए निर्णायक मण्डलको निर्णय अन्तिम हुने आयोजकले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0