धादिङ बेसी
धादिङ क्षेत्र नं. २ बाट नव निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठले धादिङ जिल्ला अस्पतालको अवस्था, समस्या तथा सुधारका विषयमा अस्पतालका चिकित्सक, कर्मचारी तथा व्यवस्थापन टोलीसँग छलफल तथा अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा अस्पतालमा तत्काल लागू गर्न सकिने सुधारका कार्यक्रमलाई दुई भागमा विभाजन गरी अगाडि बढ्ने सहमति भएको छ। तीमध्ये पहिलो, बिना अतिरिक्त लगानी कार्यान्वयन गर्न सकिने सुधारहरू र दोस्रो, लगानी आवश्यक पर्ने सुधार कार्यक्रमहरू रहेका छन्।
सो अवसरमा सांसद श्रेष्ठले अस्पतालका तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै कर्मचारीहरूको हकहित र मनोबललाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आफूले गर्ने पहलको प्रत्यक्ष सकारात्मक प्रभाव सेवाग्राहीले महसुस गर्न पाउनुपर्ने कुरामा जोड दिनुभयो।
यसैबीच, हिजो बिहान मतदातालाई धन्यवाद दिने कार्यक्रमका क्रममा धादिङ जिल्ला RAT संयोजक तथा संगठन विभाग उप–प्रमुख दीपक अधिकारीले धादिङ जिल्ला अस्पतालको ३२ रोपनी जग्गा अस्पतालकै नाममा ल्याउन अनुरोध गर्नुभएको थियो।
उक्त विषयलाई गम्भीर रूपमा लिँदै सांसद श्रेष्ठले अस्पतालको ३२ रोपनी जग्गा अस्पतालकै नाममा ल्याउन आफूले आवश्यक पर्ने कुनै पनि कदम चाल्न पछि नहट्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ।






