धादिङ — धादिङको ज्वालामुखी गाउँपालिकामा अन्तरजातीय मागी विवाह हुन लागेको छ । ज्वालामुखी गाउँपालिका–७ निवासी कृष्ण रम्तेल र राधिका रम्तेलकी सुपुत्री मञ्जु रम्तेल (दलित समुदाय) तथा ज्वालामुखी गाउँपालिका–६ निवासी बेदबहादुर राना मगर र भक्तकुमारी राना मगरका सुपुत्र संगम राना मगरबीच विवाह हुन लागेको हो ।
उक्त विवाह आगामी फागुन ३० गते सम्पन्न हुने तयारी गरिएको छ । स्थानीयका अनुसार धादिङमा मागी (व्यवस्थित) तरिकाले हुने अन्तरजातीय विवाहमध्ये यो सम्भवतः पहिलो घटना हुन सक्ने बताइएको छ ।
यो विवाहलाई समाजमा अझै देखिने जातीय विभेद तथा छुवाछूतजस्ता कुरीतिविरुद्ध सकारात्मक सन्देश दिने प्रयासका रूपमा हेरिएको छ । अन्तरजातीय विवाहलाई लिएर अहिले पनि धेरै परिवार तथा समुदायमा विभिन्न किसिमका सामाजिक दबाब, अपहेलना र विभेद हुने अवस्था कायम रहेको छ । कतिपय अवस्थामा यस्ता सम्बन्धका कारण व्यक्तिहरूले गम्भीर सामाजिक समस्या भोग्नुपरेको उदाहरणहरू पनि भेटिन्छन् ।
दलित समुदायका अगुवाहरूका अनुसार दलित र गैरदलितबीच हुने विभेद अन्त्य गर्न यस्ता अन्तरजातीय विवाहले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूले यस विवाहले समानता, सहअस्तित्व र सामाजिक सद्भावको सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार ज्वालामुखीमा हुन लागेको यो विवाहले समाजमा सकारात्मक सोच विकास गर्न तथा जातीय विभेद अन्त्यतर्फ एउटा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।