पोखरा , २८  फागुन

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ। निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लगिँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

पोखरा–९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा भाषण गरिरहेकै बेला थापा अचानक ढलेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुगेको केही समयपछि चिकित्सकले उनलाई मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

थापा नेपाली कम्युनिस्ट आन्दोलनका सक्रिय नेता मानिन्थे। उनी तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयरसमेत रहेका थिए। साथै २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले पुनः पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए। तर उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धनराज आचार्यसँग पराजित भएका थिए।

उनको आकस्मिक निधनपछि एमाले वृत्तमा शोकको वातावरण बनेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले थापाको राजनीतिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0