म्याग्दी, १९ चैत — वैदेशिक रोजगारीमा दुई दशक बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याल अहिले जन्मथलोमै फर्किएर व्यावसायिक भेडाबाख्रा पालनमा सक्रिय हुनुहुन्छ।

विदेशमा कमाएको अनुभव र पूँजीलाई सदुपयोग गर्दै उहाँले ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको हो। सहरको सुविधा सम्पन्न जीवन त्यागेर गाउँमै केही गर्ने सोचका साथ फर्किएका हिमबहादुरले हाल करिब छ सय भेडाबाख्रा पाल्दै आउनुभएको छ।

उहाँका अनुसार, “विदेशमा कमाएको पैसाले पोखरामा सहज जीवन बिताउन सकिन्थ्यो, तर आफ्नै ठाउँमा केही गरौं भन्ने सोचले गाउँ फर्किएँ।”

हिमबहादुरले परम्परागत घुम्ती गोठ प्रणाली अपनाउँदै हिउँदमा बेसी र बर्खामा लेक क्षेत्रमा भेडाबाख्रा चराउने गर्नुभएको छ। असोज महिनामा बेसी झारिएको गोठ हिउँदभर मल्कवाङको फेदी क्षेत्रमा राखिन्छ भने वैशाखदेखि क्रमशः लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनसम्म पु¥याइन्छ।

उहाँले वार्षिक करिब ३०० भेडाबाख्रा बिक्री गर्दै आउनुभएको छ, जसबाट वर्षमा ३० देखि ४० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ। साथै, उहाँको फार्मले गाउँका तीन जनालाई रोजगारी समेत प्रदान गरेको छ।

भेडाबाख्राको मासु तथा पूजाआजाका लागि आवश्यक खसीबोका गोठबाटै बिक्री हुने भएकाले बजारको अभाव नभएको उहाँको अनुभव छ।

स्थानीय सरकार र सम्बन्धित निकायबाट पनि सहयोग प्राप्त भएको छ। धवलागिरि गाउँपालिकाले चिसोबाट बचाउन टहरा निर्माणमा सहयोग गरेको छ भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले निःशुल्क खोप सेवा उपलब्ध गराउँदै आएको छ।

भेडाबाख्राको सुरक्षाका लागि पाँच वटा कुकुर र खाद्यान्न ढुवानीका लागि दुई वटा घोडा समेत पालिएको छ।

यद्यपि चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण तथा मौसम परिवर्तनजस्ता चुनौतीहरू भेडापालन व्यवसायमा देखिएका छन्।

गाउँबाट सहर र विदेश पलायन हुने क्रम बढिरहेका बेला हिमबहादुरजस्ता व्यक्तिहरूको पहलले गाउँमै रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0