ज्वालामुखी–२ लाई नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिदै
‘मिसन २०८२’ अन्तर्गत सरसफाइ प्रवर्द्धन अभियान

धादिङ , — ज्वालामुखी गाउँपालिका वडा नं –२ लाई नमुना ‘सफा तथा स्वच्छ वडा’ घोषणा गर्ने भएको छ। ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार ‘मिसन २०८२’ अभियानअन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत सरसफाइ र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमलाई प्रभावकारी र आकर्षक बनाउन विभिन्न सांगीतिक प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ। यस क्रममा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र स्थानीय कलाकार रीता तामाङलगायतले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

अभियानमा अक्सफाम, फोकस नेपाल र शान्ति नेपाललगायत संस्थाहरूको सहकार्य रहनेछ भने ज्वालामुखी गाउँपालिकाको मुख्य सहयोगमा कार्यक्रम सञ्चालन गरिनेछ। सरसफाइलाई दीर्घकालीन रूपमा व्यवहारमा उतार्ने उद्देश्यले स्थानीय समुदायको सक्रिय सहभागितामा कार्यक्रम अघि बढाइने जनाइएको छ।

‘घर, टोल तथा समुदाय सफा राखौं, स्वास्थ्य र सभ्यताको पहिचान दिऔं’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन हुने छ। साथै ‘स्वस्थकर बानी व्यवहार दीर्घायुको मुख्य आधार’ भन्ने सन्देशमार्फत नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

स्थानीय तहमा सरसफाइ र स्वास्थ्यसम्बन्धी व्यवहार सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0