ज्वालामुखी गाउँपालिका ‘नमुना सफा र स्वच्छ’ घोषणा हुदै
‘मिसन २०८२’ अभियानअन्तर्गत सबै वडा समेट्दै औपचारिक घोषणा चैत २९ मा
धादिङ,
ज्वालामुखी गाउँपालिकाले सबै वडालाई समेट्दै आफूलाई ‘नमुना सफा र स्वच्छ गाउँपालिका’ घोषणा गर्ने तयारी गरेको छ। ‘मिसन २०८२, सफा र स्वच्छ क्षेत्र ज्वालामुखी’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानअन्तर्गत यही चैत २९ गते भव्य कार्यक्रममार्फत औपचारिक घोषणा गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार २०८२ सालभित्रै सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा सफा, स्वच्छ र नमुना बनाउने लक्ष्यसहित अभियानलाई तीव्रता दिइएको हो। यसअघि केही वडालाई नमुना घोषणा गरिसकेको पालिकाले हाल सबै घरधुरीमा आवश्यक मापदण्ड पूरा गराउने कार्य सम्पन्न गरेको जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार गाउँपालिकाभित्र रहेका ६ हजार ७९ घरधुरीमा सरसफाइसम्बन्धी सूचक शतप्रतिशत रूपमा पूरा गरिएको छ। अभियान अन्तर्गत चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, स्वस्थ खाना तथा सरसफाइयुक्त भान्सा र सफा आँगनजस्ता पाँच व्यवहार परिवर्तनमा विशेष जोड दिइएको छ।
यस्तै, १५ वटा सूचक पूरा गराउँदै चार चरणमा अनुगमन प्रक्रिया सम्पन्न गरेपछि मात्रै घरधुरीलाई पूर्ण सरसफाइ मापदण्डमा समेटिएको जनाइएको छ। गाउँपालिकाले सरसफाइलाई दीर्घकालीन रूपमा व्यवहारमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ।
“नागरिक स्वस्थ भए मात्र विकासले गति लिन्छ,” स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “त्यसैले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सफा र स्वच्छ गाउँ निर्माण अभियानलाई प्राथमिकता दिइएको हो।”
‘सहभागी बनाऔं, सफल पारौं’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको अभियानले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई समेत समेट्दै समृद्ध ज्वालामुखी निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।






