बद्री पौडेल
धादिङ :- ४ बैशाष २०८३
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर जन्मदाता आमालाई सम्मान गर्दै विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्दै मीठामीठा परिकार खुवाई आशीर्वाद ग्रहण गर्ने परम्परा यस दिनको मुख्य विशेषता हो।
शास्त्रीय मान्यताअनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थानमा राखिएको छ। सन्तानहरूले आज बिहानै नुहाइधुवाइ गरी आफ्नी आमालाई नयाँ वस्त्र लगाइदिने, स्वादिला तथा तागतिला परिकार खुवाउने र आमालाई खुसी बनाउने गर्दछन्। घरभन्दा टाढा रहेका सन्तानहरू पनि यस दिन आमालाई भेट्न घर फर्कने चलन छ। विशेषगरी छोरीहरू माईत आएर आमासँग भेटघाट गर्ने परम्परा अझै जीवित छ।
आमा नभएका व्यक्तिहरूले भने आमाको स्मरणमा तर्पण र पिण्ड दान गर्नुका साथै पुरोहितलाई सिदा दान गरी दिवङ्गत आमाको आत्माको शान्तिको कामना गर्ने गर्दछन्। धार्मिक विश्वासअनुसार यस दिन दिवङ्गत आमाहरूले सन्तानबाट तर्पण र पिण्डको अपेक्षा गर्ने जनविश्वास रहेको छ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन् भन्ने उल्लेख छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व बाबुभन्दा हजार गुणा बढी हुने शास्त्रीय मान्यता छ। “जीवित आमालाई उचित सम्मान र सेवा गर्नु नै यो पर्वको मुख्य उद्देश्य हो,” उनले बताए।
यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लागेको छ। मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिएका छन्। मातृविहीनहरूले मातातीर्थ कुण्डमा स्नान गरी तर्पण दिने र आमाको सम्झना गर्ने गर्दछन्।
आमालाई सम्झने, माया गर्ने, मिठा खानेकुरा तथा मिष्टान्न भोजन खुवाउने, तथा परिवारबीच स्नेह साटासाट गर्ने यो पर्वले नेपाली समाजमा आमाप्रतिको सम्मान र संस्कारलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।






