धादिङ, बैशाख २१ ,२०८३
बागमती प्रदेश सूचना पुनरावेदन समितिका नव नियुक्त अध्यक्ष कृष्णराज अधिकारीसहितको टोलीले धादिङमा सरकारी कार्यालयहरूबाट नागरिकले कसरी सर्वसुलभ रूपमा सूचना प्राप्त गर्न सक्छन् भन्ने विषयमा छलफल गरेको छ।
प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीसँग भएको उक्त छलफलमा मानव अधिकार संगठन धादिङका सभापति कृष्ण बहादुर पौडेल (बद्री) र कोषाध्यक्ष बालकृष्ण नेपालीको पनि सहभागिता रहेको थियो। छलफलका क्रममा सूचना पहुँचलाई प्रभावकारी बनाउने, पारदर्शिता बढाउने तथा सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा धादिङका अनुसन्धान प्रमुखको समेत उपस्थिति रहेको थियो। यसै क्रममा टोलीले जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहाल तथा जिल्ला अदालत धादिङका सूचना अधिकारी केशब सुबेदी एवं श्रेस्तेदार राजेन्द्र लुइटेलसँग पनि भेटघाट गरी सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको थियो।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले सबै सरकारी कार्यालयहरूले दैनिक रूपमा गरेका कामहरूको विवरण नागरिकसमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै यसले पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गर्नुभयो।






