अरुण पौडेल , अष्ट्रेलिया, २५ बैशाष

पछिल्लो एक दशकमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको सङ्ख्या करिब पाँच गुणाले वृद्धि भएको पाइएको छ। अध्ययन, रोजगारी र बसोबासका लागि आकर्षक गन्तव्य बन्दै गएको अस्ट्रेलियामा सन् २०१५ देखि २०२५ सम्म नेपाली समुदायको उल्लेख्य विस्तार भएको तथ्यांकले देखाएको हो।

अस्ट्रेलियाको तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०१५ मा अस्ट्रेलियामा नेपाली मूलका ५० हजार १५० जना रहेका थिए। उक्त सङ्ख्या सन् २०२५ मा आइपुग्दा बढेर २ लाख २३ हजार ५८० पुगेको छ।

तथ्यांकअनुसार विशेषगरी सन् २०२१ पछिका वर्षहरूमा नेपालीको बसाइँसराइ तीव्र रूपमा बढेको देखिन्छ। उच्च शिक्षा, रोजगारीका अवसर र स्थायी बसोबासतर्फको आकर्षणका कारण नेपाली युवाहरूको अस्ट्रेलिया जाने क्रम निरन्तर बढिरहेको छ।

यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने विदेशमा जन्मिएका नागरिकहरूको सूचीमा नेपाल आठौँ स्थानमा पुगेको छ। सो सूचीमा भारत पहिलो स्थानमा रहेको छ भने बेलायतलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। यस्तै चीन तेस्रो र न्यूजिल्याण्ड चौथो स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0