धादिङ, १३ जेठ २०८३
धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेमा भएको सडक दुर्घटनापछि सामाजिक सञ्जालमा प्रहरीमाथि लागेको आरोप निराधार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले स्पष्ट पारेको छ। उक्त घटनामा डिउटीमा रहेका प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेको र समयमा घटनास्थल नपुगेको भनी सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, मिति २०८३ जेठ १० गते बिहान सिम्लेबजारमा भएको सडक दुर्घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय गजुरीले तत्कालै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सम्बन्धित प्रहरी कर्मचारीहरूको ब्रेथलाइजर (मापसे जाँच गर्ने यन्त्र) र बैरेनी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा कसैले पनि मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ।
प्रहरीका अनुसार दुर्घटना लगत्तै घाइतेलाई उद्धार गरी स्थानीय मेडिकलमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि अस्थायी प्रहरी पोष्ट सिम्लेमा कार्यरत प्रहरी जवान सुरेश थापाको साथमा घाइतेलाई काठमाडौंको नेशनल अस्पताल कलंकी पठाइएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीको सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङले थप छानबिन गरिरहेको र अनुसन्धानका क्रममा कोही दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ।
प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल) द्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ, “सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि नागरिकको सुरक्षामा अहोरात्र खटिएर प्रहरीले आफ्नो व्यावसायिक जिम्मेवारी पुरा गरिरहेको छ। आगामी दिनहरूमा अझै व्यावसायिक, नागरिक मैत्री र जवाफदेही प्रहरी सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।”






