धादिङ । ज्येष्ठ नागरिक जिल्ला संघ धादिङले विभिन्न कानुनी तथा संस्थागत संरचनाबाट ‘ज्येष्ठ नागरिक’ शब्द हटाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । संघले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित संघले बुझाएको ज्ञापनपत्रमा ज्येष्ठ नागरिक ऐन, २०६३ (संशोधन २०७९) तथा ज्येष्ठ नागरिक नियमावली, २०६५ मा व्यवस्था भएअनुसार ज्येष्ठ नागरिकसँग सम्बन्धित संस्थाहरूको नाम र पहिचान सुरक्षित रहनुपर्ने उल्लेख गरिएको छ । तर हाल विभिन्न निकायमा ‘ज्येष्ठ नागरिक’ शब्द हटाउने कार्य भइरहेको भन्दै संघले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष वासुदेव लम्सालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘ज्येष्ठ नागरिक’ शब्द यथावत् कायम राख्न सरकारसँग माग गरिएको छ । उक्त शब्द हटाइए ज्येष्ठ नागरिकहरूको पहिचान, सम्मान तथा अधिकारमा असर पुग्ने संघको ठहर छ ।
संघले आफ्ना मागप्रति सरकारले समयमै संवेदनशीलता नदेखाए शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ । साथै ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा राज्य गम्भीर र जिम्मेवार बन्नुपर्नेमा संघले जोड दिएको छ ।







