स्थानीय न्याय सम्पादन, मेलमिलाप र विवाद समाधानका अभ्यास आदानप्रदान गरिने

धादिङ । बागमती प्रदेश अन्तर्गतका ११९ स्थानीय तहहरूको सहभागितामा न्यायिक सम्मेलन आगामी २०८३ साल जेठ १६ र १७ गते उत्तरी धादिङस्थित रुबिभ्याली गाउँपालिका–३, सेर्तुङमा आयोजना हुने भएको छ। रुबिभ्याली गाउँपालिका न्यायिक समिति, सेर्तुङ धादिङको आयोजनामा हुन लागेको उक्त सम्मेलनलाई स्थानीय तहको न्याय प्रणालीलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्मेलनमा स्थानीय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरू, जनप्रतिनिधि, मेलमिलापकर्ता, कानुन व्यवसायी तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय तहमा हुने विवाद समाधान, मेलमिलापको अभ्यास, न्याय सम्पादनका चुनौती, कानुनी प्रक्रिया तथा सफल अभ्यासहरूबारे अनुभव आदानप्रदान गरिने कार्यक्रम रहेको छ।

नेपालको संविधानले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेपछि गाउँपालिका तथा नगरपालिकामा न्यायिक समितिहरू गठन भएका छन्। ती समितिहरूले स्थानीय स्तरका सामान्य प्रकृतिका विवाद समाधान गर्दै नागरिकलाई सहज, छिटो र सुलभ न्याय प्रदान गर्दै आएका छन्। यही सन्दर्भमा आयोजना हुन लागेको सम्मेलनले न्यायिक समितिहरूबीच सहकार्य, अनुभव आदानप्रदान तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रुबिभ्यालीको पर्यटन र विकास प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

सम्मेलनको आयोजना रुबिभ्याली गाउँपालिकाको सेर्तुङ क्षेत्रमा गरिनु आफैंमा विशेष महत्वको विषय मानिएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि भौगोलिक विकटता र पूर्वाधार अभावका कारण पछाडि परेको रुबिभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा यस कार्यक्रमलाई हेरिएको छ।

राजधानी काठमाडौंसँग सिमाना जोडिएको क्षेत्र भएतापनि विकास र पर्यटनका हिसाबले अपेक्षाकृत ओझेलमा परेको रुबिभ्यालीलाई सम्मेलनले नयाँ पहिचान दिलाउने स्थानीयवासीको विश्वास छ। आयोजकका अनुसार सम्मेलनले गाउँपालिकाको व्यापक प्रचारप्रसार हुनुका साथै यहाँको जनजीवन, संस्कृति, प्राकृतिक सम्पदा तथा विकासका सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्न मद्दत पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0