अ्मित पौडेल
बुटवल , जेठ १४ , २०८३
नेपाल लेयर्स कुखुरापालक संघको आयोजनामा आज २०८३ जेठ १४ गते बुटवलमा बृहत व्यवसायी भेला सम्पन्न भएको छ। भेलामा देशभरका अण्डा उत्पादक व्यवसायी, संघका केन्द्रीय अध्यक्ष, पदाधिकारी, सल्लाहकार तथा विभिन्न जिल्लाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलामा हालको अण्डा उत्पादनको अवस्था, बजारमा अण्डाको माग तथा आपूर्ति, मूल्य असन्तुलन र व्यवसायीहरूले भोगिरहेका समस्याका विषयमा गम्भीर छलफल गरिएको संघले जनाएको छ। विशेषगरी पछिल्लो समय उत्पादन लागत वृद्धि, बजार मूल्यमा आएको उतारचढाव तथा सीमावर्ती भारतीय नाकाबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तु आयात हुँदा स्वदेशी उत्पादन प्रभावित भइरहेको विषयमा व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
संघका पदाधिकारीहरूले नेपाली पोल्ट्री व्यवसायलाई संरक्षण गर्न सरकारको प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन्। अवैध आयात नियन्त्रण नगरे स्वदेशी अण्डा तथा पोल्ट्री उद्योग संकटमा पर्ने चेतावनी समेत व्यवसायीहरूले दिएका छन्।
यसअघि नेपाल लेयर्स कुखुरापालक संघले जेठ ११ गतेदेखि लागू हुने गरी चितवनलाई आधार मानी अण्डाको नयाँ फार्म समर्थन मूल्य समेत निर्धारण गरेको थियो। संघका अनुसार XL अण्डाको मूल्य प्रति क्रेट रु ५४५, ठूलो अण्डा रु ५३०, मिडियम अण्डा रु ५०० तथा सानो अण्डा रु ४०० कायम गरिएको छ। उपभोक्ता मूल्य प्रति गोटा रु २५ तोकिएको संघले जनाएको छ।
भेलाबाट व्यवसायीका साझा समस्या समाधानका लागि सरकारसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।







