अ्मित पौडेल , धादिङ , जेठ २४ , २०८३

गङ्गाजमुना गाउँपालिका वडा नम्बर–५ लाई औपचारिक रूपमा सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न घोषणा समारोहमा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता वडा नं.–५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले गर्नुभएको थियो भने धादिङ जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, शान्ति नेपालका कार्यक्रम निर्देशक इन्द्रमान शाक्य, स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा बोल्दै अतिथिहरूले सरसफाइ, स्वच्छता तथा स्वस्थ जीवनशैलीलाई स्थानीय विकासको आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका थिए। उनीहरूले वडा नं.–५ ले हासिल गरेको उपलब्धि अन्य वडाहरूका लागि पनि प्रेरणादायी भएको उल्लेख गरे।

 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारीका अनुसार यसअघि वडा नं.–३ र वडा नं.–२ लाई सफा तथा स्वच्छ वडा घोषणा गरिसकिएको छ भने आज वडा नं.–५ लाई घोषणा गरिएको हो। अब बाँकी रहेका चार वटा वडालाई पनि छिट्टै सफा तथा स्वच्छ वडा घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। सबै वडाले आवश्यक मापदण्ड पूरा गरेपछि सम्पूर्ण गङ्गाजमुना गाउँपालिकालाई नै सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।

समारोहमा सरसफाइ अभियानमा सहयोग पुर्‍याउने स्थानीयवासी, संघसंस्था तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै स्वच्छ, स्वस्थ र वातावरणमैत्री समाज निर्माणमा सबैको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0