गजुरी, धादिङ, जेठ २४ – २०८३

समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको तीनदिने मौरीपालन तालिम तथा मौरीसहितको घार र सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
धादिङ नेत्रहीन सङ्घ धादिङको आयोजनामा तथा गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम २०८३ साल जेठ २२ गतेदेखि सुरु भएको थियो। तालिमको उद्घाटन धादिङ नेत्रहीन सङ्घका अध्यक्ष ज्ञानेन्द्र लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिलवाल विशेष अतिथि तथा गजुरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। तालिमका प्रशिक्षक गोरेबहादुर मिजारको समेत उपस्थिति रहेको थियो।
गजुरी गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका सहभागीहरू समेटिएको तालिममा प्रत्येक वडाबाट दुईजनाका दरले सहभागिता रहेको थियो। तालिममा ७ जना महिला र १४ जना पुरुष गरी कुल २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा मौरीको गोला निरीक्षण गर्ने विधि, मह काट्ने सही तरिका, मौरीमा लाग्ने रोग तथा तिनको व्यवस्थापन, मौरीलाई असर गर्ने झोल तथा रासायनिक विषादीको प्रभाव, मौरीको चरण क्षेत्र, रानी, कर्मी तथा भाले मौरीको जीवनचक्र, श्रावण र पौष महिनामा मौरीको विशेष हेरचाह, कृत्रिम आहार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। साथै सहभागीहरूले तालिममा सिकेका विषयवस्तुको प्रतिवेदन लेखनसमेत गरेका थिए।
तालिमको समापन २०८३ साल जेठ २४ गते सम्पन्न भएको थियो। समापन समारोह धादिङ नेत्रहीन सङ्घका अध्यक्ष ज्ञानेन्द्र लम्सालको सभापतित्वमा तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिलवाल, वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारी तथा वडा नं. ६ का अध्यक्ष भक्तबहादुर तामाङ कर्णको समेत आतिथ्यता रहेको थियो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले सहभागीहरूलाई मौरीसहितको घार, पन्जा, टोपी र क्विन गेट लगायत आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो। सो अवसरमा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन तथा आत्मनिर्भरताका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेटमा मौरीपालन कार्यक्रमका लागि २० देखि २५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन वृद्धि, सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0