बिश्वास सिल्वाल , धादिङ , जेठ २४ ,२०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित हुनुभएको छ। धादिङस्थित क्रिक रिसोर्ट मा सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा श्रवण त्रिपाठी, सचिवमा राम भण्डारी तथा सहसचिवमा श्रीराम आचार्य निर्वाचित हुनुभएको छ।
अधिवेशन तथा नेतृत्व चयन कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशिका तामाङ र बोधनारायण श्रेष्ठ को समेत उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै संगठन विस्तार, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासलाई सशक्त बनाउन शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित सभापति अर्यालले जिल्लाभर पार्टी संगठनलाई थप मजबुत बनाउने, जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा पार्टीका नीति र कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नयाँ कार्यसमिति चयनसँगै धादिङमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक गतिविधि थप प्रभावकारी र सक्रिय बन्ने अपेक्षा गरिएको छ।






