बिश्वास सिलवाल , धादिङ २३ जेष्ठ २०८३
नीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका BLE र SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा शिक्षक–शिक्षिकाहरूलाई बाजागाजासहित सम्मान गरेको छ।
शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यार्थी, विद्यालय र शिक्षकहरूको योगदानको कदर गर्दै नगरपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत सम्मानित विद्यार्थी, शिक्षक तथा विद्यालयका प्रतिनिधिहरूलाई धादिङबेसी बजार क्षेत्रमा बाजागाजासहित नगरपरिक्रमा गराइएको थियो।
सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना तथा उपप्रमुख दीपक विश्वकर्माले उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरेका थिए। त्यसैगरी, BLE र SEE परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरू तथा उक्त उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानाध्यापक, शिक्षक र शिक्षिकाहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थालाई सार्वजनिक रूपमा सम्मान गर्ने कार्यले अन्य विद्यार्थीहरूलाई समेत अध्ययनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले गुणस्तरीय शिक्षा नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। उपप्रमुख दीपक विश्वकर्माले विद्यार्थीहरूको सफलता शिक्षकको समर्पण, अभिभावकको सहयोग र विद्यार्थीको मेहनतको संयुक्त प्रतिफल भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा अझ उत्कृष्ट परिणाम हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
बाजागाजासहित निकालिएको सम्मान र्यालीले धादिङबेसी क्षेत्र उत्साहमय बनेको थियो। नीलकण्ठ नगरपालिकाको यो पहलले शिक्षा क्षेत्रमा उत्कृष्टता, प्रोत्साहन र सम्मानको संस्कृतिलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको थियो।







