अ्मित पौडेल
धादिङ, असार २७ , २०८३
खनियाबास गाउँपालिका–३ अन्तर्गत रहेको कुरी गाउँ (साविक दार्खा–४) लाई “नमुना सफा तथा स्वच्छ टोल” घोषणा गरिएको छ। वडा नं. ३ को आयोजनामा तथा सेचेन –करुणा (Sechen Karuna) को सहयोगमा सम्पन्न कार्यक्रममा गाउँलाई औपचारिक रूपमा नमुना सफा तथा स्वच्छ टोल घोषणा गरिएको हो।
वडा अध्यक्ष कमानसिंह तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ प्रमुख अतिथि तथा स्वास्थ्य शाखा प्रमुख आईत बहादुर तामाङ विशेष अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेकेमान तामाङले सरसफाइ र स्वच्छता अभियानलाई सफल बनाउन स्थानीय समुदाय, आमा समूह तथा सरोकारवालाहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए। उनले स्वच्छ वातावरण निर्माणले नागरिकको स्वास्थ्य सुधारमा प्रत्यक्ष योगदान पुग्ने उल्लेख गर्दै यस अभियानलाई निरन्तरता दिन आग्रह गरे।
विशेष अतिथि आईत ब तामाङले कुरी गाउँलाई नमुना सफा तथा स्वच्छ टोल घोषणा गर्न सफल हुनु समुदायको सामूहिक मेहनतको परिणाम भएको बताए। उनले सरसफाइलाई जीवनशैलीकै रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय आमा समूह, टोलवासी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। करिब २१५ घरधुरी रहेको कुरी गाउँमा सञ्चालन गरिएको सरसफाइ तथा स्वच्छता अभियानले गाउँलाई नमुना बस्तीको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
सहभागीहरूले कुरी गाउँलाई आगामी दिनमा पनि सफा, स्वच्छ र स्वस्थ बस्तीका रूपमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। घोषणा समारोह उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको थियो।






