३० जेठ २०८३
आजको आधुनिक युगमा विज्ञान, प्रविधि र सुविधाहरूको विकाससँगै मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। तर यही परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा अर्को गम्भीर चुनौती पनि बढ्दै गएको छ— नसर्ने रोग (Non-Communicable Diseases – NCDs)। एक समय सरुवा रोगहरू प्रमुख स्वास्थ्य समस्या मानिन्थे भने अहिले क्यान्सर, मुटुरोग, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोग तथा मानसिक स्वास्थ्य समस्या जस्ता नसर्ने रोगहरू मृत्यु र अशक्तताको प्रमुख कारण बन्दै गएका छन्।
नेपालमा पनि पछिल्लो दशकमा नसर्ने रोगको दर तीव्र रूपमा बढेको छ। असन्तुलित खानपान, शारीरिक श्रमको कमी, मानसिक तनाव, प्रदूषण, धुम्रपान, मद्यपान तथा बदलिँदो जीवनशैलीका कारण बालबालिकादेखि वृद्धसम्म यसका जोखिममा परिरहेका छन्। यसले केवल व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवारको आर्थिक अवस्था र राष्ट्रको समग्र उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारिरहेको छ।
नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक का रूपमा सुनिश्चित गरेको छ। त्यसैले स्वास्थ्य सेवा उपलब्ध गराउनु मात्र होइन, रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नु पनि राज्यको दायित्व हो। विशेष गरी स्थानीय सरकारहरूले आफ्नो स्वास्थ्य नीति, योजना र बजेटलाई उपचारमुखी भन्दा रोकथाममुखी बनाउनु आजको आवश्यकता हो।
प्रमुख नसर्ने रोगहरू र तिनको प्रभाव
१. मुटु तथा रक्तनलीसम्बन्धी रोग
उच्च रक्तचाप, हृदयाघात (हार्ट अट्याक) र मस्तिष्कघात (स्ट्रोक) जस्ता रोगहरू आज अकाल मृत्युका प्रमुख कारण बनेका छन्। अत्यधिक नुन, चिल्लो खाना, धुम्रपान, मद्यपान, व्यायामको कमी तथा तनावले यी रोगको जोखिम बढाउँछन्।
२. क्यान्सर
शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा वृद्धि हुने अवस्थालाई क्यान्सर भनिन्छ। धुम्रपान, मद्यपान, वातावरणीय प्रदूषण, अस्वस्थ खानपान तथा विभिन्न संक्रमणका कारण फोक्सो, स्तन, पाठेघर, पेट र मुखको क्यान्सरका बिरामीहरू बढिरहेका छन्।
३. मधुमेह (डायबिटिज)
रगतमा चिनीको मात्रा असन्तुलित हुने यो रोग अहिले वृद्धवृद्धामा मात्र सीमित छैन। शारीरिक निष्क्रियता, मोटोपन, तयारी तथा जंक फुडको अत्यधिक सेवनका कारण युवापुस्तामा समेत यसको जोखिम बढ्दो छ।
४. दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग
वायु प्रदूषण, धुलो, धुवाँ तथा धुम्रपानका कारण दम, क्रोनिक ब्रोन्काइटिस र COPD जस्ता रोगहरू बढिरहेका छन्, जसले दैनिक जीवन र कार्यक्षमतामा प्रत्यक्ष असर पुर्‍याउँछन्।
५. मानसिक स्वास्थ्य समस्या
डिप्रेसन, एन्जाइटी, तनाव तथा व्यवहारजन्य समस्याहरू अहिले समाजका साझा चुनौती बनेका छन्। प्रतिस्पर्धात्मक जीवनशैली, बेरोजगारी, सामाजिक दबाब र पारिवारिक समस्याहरूले मानसिक स्वास्थ्यलाई गम्भीर असर गरिरहेका छन्।
स्थानीय सरकारको भूमिका: उपचारभन्दा रोकथाममा जोड
नसर्ने रोगहरूको उपचार महँगो, जटिल र दीर्घकालीन हुने भएकाले स्थानीय सरकारले आफ्नो स्वास्थ्य बजेटको ठूलो हिस्सा रोकथाम, जनचेतना र स्वास्थ्य प्रवर्द्धन मा केन्द्रित गर्नुपर्छ।
१. व्यायाममैत्री समुदाय निर्माण
हरेक वडा र टोलमा खुला व्यायाम केन्द्र (Open Gym), खेल मैदान, साइकल लेन, पैदलमार्ग तथा सार्वजनिक उद्यान निर्माण गरिनुपर्छ। नागरिकलाई नियमित शारीरिक गतिविधिमा सहभागी गराउन स्थानीय तहले अभियान सञ्चालन गर्न आवश्यक छ।
२. स्वास्थ्य शिक्षा र जनचेतना विस्तार
विद्यालय, आमा समूह, युवा क्लब तथा सामाजिक संघसंस्थामार्फत स्वस्थ खानपान, सरसफाइ, मानसिक स्वास्थ्य र जीवनशैलीसम्बन्धी शिक्षा प्रदान गरिनुपर्छ। जंक फुडको सट्टा स्थानीय तथा पोषणयुक्त रैथाने खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ।
३. नियमित स्वास्थ्य परीक्षणको व्यवस्था
रोग लागिसकेपछि उपचार खोज्नुभन्दा रोगको समयमै पहिचान गर्नु बढी प्रभावकारी हुन्छ। त्यसका लागि स्वास्थ्य चौकी र समुदायस्तरमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा अन्य आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क र नियमित रूपमा सञ्चालन गरिनुपर्छ।
४. धुम्रपान र मद्यपान नियन्त्रण
सार्वजनिक स्थलहरूमा धुम्रपान निषेधको प्रभावकारी कार्यान्वयन, सुर्तीजन्य पदार्थ र मदिराको दुरुपयोग नियन्त्रण तथा स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन स्थानीय सरकार सक्रिय हुनुपर्छ।
५. मानसिक स्वास्थ्य सेवाको विस्तार
स्थानीय तहले परामर्श केन्द्र स्थापना गर्ने, मनोसामाजिक सहयोग उपलब्ध गराउने तथा मानसिक स्वास्थ्यबारे खुला छलफल र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
नागरिकको पनि उत्तिकै जिम्मेवारी
स्वस्थ समाज निर्माण केवल सरकारको प्रयासले मात्र सम्भव हुँदैन। प्रत्येक नागरिकले पनि आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ।
नियमित व्यायाम गर्ने।
सन्तुलित र पोषणयुक्त भोजन खाने।
धुम्रपान, मद्यपान तथा लागूपदार्थबाट टाढा रहने।
पर्याप्त निद्रा र आराम गर्ने।
मानसिक स्वास्थ्यप्रति सचेत रहने।
नियमित स्वास्थ्य परीक्षण गराउने।
निष्कर्ष
“उपचारभन्दा रोकथाम नै उत्तम” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्ने समय अब आएको छ। नसर्ने रोगहरू केवल स्वास्थ्यको समस्या मात्र होइनन्; यी सामाजिक, आर्थिक र विकासका चुनौती पनि हुन्। स्थानीय सरकारले स्वास्थ्य प्रवर्द्धन, जनचेतना र रोकथाममुखी कार्यक्रमलाई प्राथमिकता दिने तथा नागरिकहरूले स्वस्थ जीवनशैली अपनाउने हो भने मात्र स्वस्थ, सक्षम  र समृद्ध समाज निर्माण गर्न सकिन्छ।
समयमै सचेत बनौँ, स्वस्थ बानी बसालौँ, र नसर्ने रोगमुक्त समाज निर्माणमा सबैले आ-आफ्नो भूमिका निभाऔँ।

लेखक , लामो समय स्थानिय तहमा रहेर काम गरेका स्वास्थ्यकर्मी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0