धादिङ, असार २ — धादिङको नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङ क्षेत्रबाट प्रहरीले दुई थान अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गोलाभञ्ज्याङस्थित बिरुडा सामुदायिक वन आसपास केही व्यक्तिहरूले अवैध हातहतियार लुकाइछिपाई राख्ने तथा बेला–बेलामा जङ्गली जनावरहरूको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी अधिकृतसहितको टोलीले असार १ गते साँझ निगरानी तथा खानतलासी गर्ने क्रममा नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङ निवासी ३३ वर्षीय श्यामबहादुर शाक्यले बारुद भरेर फायर गर्न तयारी अवस्थामा लुकाइछिपाई राखेको एक थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो।
त्यसैगरी, नीलकण्ठ नगरपालिका– 9 पाल्पाभञ्ज्याङ निवासी ३२ वर्षीय सन्तबहादुर गुरुङले बिखला सामुदायिक वन नजिक झाडीबुट्यानमा लुकाइछिपाई राखेको अर्को एक थान अवैध भरुवा बन्दुक पनि प्रहरीले फेला पारेको जनाएको छ।
स्थानीयवासीको रोहबरमा रितपूर्वक बरामद गरिएका दुई थान अवैध भरुवा बन्दुकसहित दुवै जनालाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। आज असार २ गते उनीहरूलाई जिल्ला अदालत धादिङमा उपस्थित गराइएकोमा अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
धादिङको गोलाभञ्ज्याङबाट दुईनाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






