बद्री पौडेल , २ असार २०८३ , धादिङ त्रिपुरासुन्दरी
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार फेदीस्थित आखुखोला (नेत्रावती) र बुढीगण्डकी नदीको पवित्र संगमस्थलमा रहेको नृसिंह धाममा आयोजित एकमहिने पुरुषोत्तम मेला तथा महायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक अनुष्ठानलाई धादिङ मात्र नभई नेपालकै इतिहासमा सम्पन्न भएका ठूला धार्मिक मेलामध्ये एकका रूपमा हेरिएको छ।
मूल आयोजक समितिका संयोजक फणिकान्त छतकुलीका अनुसार मेलामा झण्डै ३० देखि ३२ लाख भक्तजनले दर्शन तथा पूजा-अर्चना गरेका छन्। नेपालका सबै ७७ जिल्लाका साथै भारत, म्यानमार, भुटान र बेलायतबाट समेत भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
धामका प्रमुख व्यक्तित्व डा. श्रीवास कृष्णदास ब्रह्मचारीले यो कार्यक्रमलाई “दिव्य अनुष्ठान”को संज्ञा दिँदै नृसिंह धाममा सञ्चालन भइरहेको गुरुकुल, गौसेवा तथा धार्मिक गतिविधिहरूका कारण यो मेला विशेष बनेको बताउनुभयो। उहाँका अनुसार पुरुषोत्तम महिनाको अवसरमा आयोजित यो मेला यस क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो धार्मिक समारोह बनेको छ।
उद्घाटनदेखि समापनसम्म विशिष्ट व्यक्तित्वको सहभागिता
जेठ १ गते सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। मेला अवधिभर विभिन्न समयमा प्रतिनिधिसभाका सभामुख, डि पी अर्याल , नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, नेता अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, धादिङबाट निर्वाचित सांसदहरू, विभिन्न पालिकाका जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा धार्मिक गुरुहरूको बाक्लो उपस्थिति रहेको थियो।
महायज्ञमा प्रमुख वाचक ईश्वर कृष्ण महाराजी, डा. श्रीवास कृष्णदास ब्रह्मचारी, नृसिंह धाम व्यवस्थापन समितिका अध्यक्ष भूमि कँडेल लगायत सयौं धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। दैनिक श्रीमद्भागवत कथा, विशेष पूजा, गोत्र अनुसारको हवन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
आयोजकका अनुसार महायज्ञ अवधिभर करिब ३ करोड ४० लाख रुपैयाँ नगद संकलन भएको अनुमान छ। यसबाहेक ठूलो परिमाणमा जिन्सी सामग्री, गौसेवा तथा धार्मिक पूर्वाधार विकासका लागि विभिन्न दाताहरूबाट सहयोग प्राप्त भएको छ
मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको सहभागितामा सभा करोड दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो। दीप प्रज्वलनले सम्पूर्ण धाम क्षेत्र झिलिमिली बनेको थियो भने धार्मिक वातावरण थप उल्लासमय बनेको थियो।
धार्मिक र ऐतिहासिक महत्व
धार्मिक मान्यताअनुसार भक्त प्रह्लादले शिक्षा प्राप्त गरेको प्राचीन पाठशालासँग यस क्षेत्रको सम्बन्ध रहेको विश्वास गरिन्छ। नृसिंह धाममा हाल करिब १६ करोड रुपैयाँको लागतमा गुरुकुल सञ्चालन भइरहेको छ। यहाँको विशाल नृसिंह भगवानको मूर्ति तथा प्राकृतिक संगमस्थल धार्मिक पर्यटनको आकर्षण बनेका छन ।
मेलाका क्रममा अत्यधिक गर्मी तथा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। विशेषगरी जेठ ९ गते अत्यधिक भीड बढ्दा व्यवस्थापनमा कठिनाइ उत्पन्न भए पनि सुरक्षा निकाय र स्वयंसेवकहरूको सक्रियताले स्थिति नियन्त्रणमा ल्याइएको थियो।
मेला अवधिमा दुई दुःखद घटना पनि घटे। एक श्रद्धालुको हृदयघातका कारण निधन भएको थियो भने जेठ ३० गते एक १४ वर्षीय बालक खोलाले बगाउँदा बेपत्ता भै पछी मृत अवस्थामा फेला परेको थियो ।
धार्मिक पर्यटनको नयाँ गन्तव्य
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीसहित सम्पूर्ण गाउँपालिका टोली, सुरक्षा निकाय, स्वयंसेवक तथा स्थानीयवासीहरूको सक्रिय सहयोगले मेला सफल भएको आयोजकले जनाएको छ।
नृसिंह धाम क्षेत्र प्रस्तावित बुढीगण्डकी जलाशय आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि मन्दिरलाई विशेष सिसा संरचना (ग्लास स्ट्रक्चर) भित्र सुरक्षित राखेर धार्मिक गतिविधि सञ्चालन गर्ने अवधारणासहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिइएको छ।
आयोजकका अनुसार यस महायज्ञले धादिङलाई धार्मिक पर्यटनको राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा नृसिंह धामलाई नेपालकै प्रमुख धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।







