धादिङ, असार २ गते।
नीलकण्ठ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा मौरीपालन सम्बन्धी तालिम सम्पन्न भएको छ। मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्दै कृषकहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा नीलकण्ठ नगरपालिका वडा नं. २, ३ र ४ का २३ जना मौरीपालक कृषकहरूको सहभागिता रहेको थियो।


तालिममा प्रमुख प्रशिक्षक केशव अर्याल तथा प्रशिक्षक राजु नेपालले मौरीको परिचय, घार व्यवस्थापन, मौरीपालनका आधुनिक प्रविधि तथा व्यवसायिक मौरीपालनसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले मौरीपालनलाई व्यावसायिक रूपमा विस्तार गरी आम्दानीको स्रोत बढाउन सकिने विषयमा समेत सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रम समापन समारोह तालिम संयोजक राजेन्द्र राना मगरको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाकी कर्मचारी जानुका रिजालले नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार तालिममा सहभागी कृषकहरूलाई मौरीको टोकाइबाट बच्न अनुहार तथा टाउको छोप्न प्रयोग गरिने सुरक्षात्मक सामग्री ‘बी भेइल’ (Bee Veil) समेत वितरण गरिएको थियो।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै मौरीपालन व्यवसायलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। नीलकण्ठ सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा पनि कृषकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0