अ्मित पौडेल , धादिङ बेसी , ३ गते असार २०८३
धादिङसहित नेपालको विभिन्न भूभागमा विगत १२–१३ दिनदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको अवस्था सिर्जना भएको छ। असार महिनामा धान रोपाइँको चटारो चल्नुपर्ने समयमा पानी नपर्दा किसान, पशुपालक तथा कुखुरापालक व्यवसायीहरू समेत प्रभावित बनेका छन्।

लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेको छ। खेतबारी सुक्खा बन्दै गएका छन् भने रोपाइँका लागि आवश्यक पानीको अभावले किसानहरू चिन्तित छन्। धादिङको नीलकण्ठ नगरपालिका आसपासका बिर्ताबेसी फाँट, कोइराला फाँट, पोखरेल फाँट, अधिकारी फाँट, कुडुले फाँट लगायतका कृषि क्षेत्रमा खडेरीको असर प्रत्यक्ष देखिएको छ।

स्थानीय कृषक शालीग्राम कोइरालाका अनुसार यस वर्ष ती क्षेत्रहरूमा चैते धान उत्पादन करिब ८० प्रतिशतले घटेको छ। धानमा रोग लागेको र  पर्याप्त पानीको अभाव र बढ्दो गर्मीका कारण उत्पादनमा ठूलो गिरावट आएको उहाँले बताउनुभयो। “अघिल्ला वर्षहरूमा राम्रो उत्पादन हुने फाँटहरूमा यस पटक धान राम्रोसँग फस्टाउन सकेन,” उहाँले भन्नुभयो। अब मङ्सिरमा उत्पादन हुने धान पनि कमी आउनेमा किसानहरु चिन्तित छन् ।

खडेरी र गर्मीको असर कुखुरा व्यवसायमा समेत देखिएको छ। धादिङका कुखुरा व्यवसायी बिक्रम पौडेलका अनुसार अत्यधिक गर्मीका कारण अण्डा उत्पादन करिब ४० प्रतिशतले घटेको छ। “गर्मी बढेपछि कुखुराले दाना कम खाने, तनावमा रहने र कतिपय मर्ने समेत भएका छन्। उत्पादन घटेकाले बजारमा अण्डाको मूल्य पनि उच्च रहन पुगेको छ,” उहाँले बताउनुभयो।

उहाँका अनुसार गर्मीका कारण कुखुराको स्वास्थ्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ भने उत्पादन लागत बढ्दा व्यवसायीहरू थप समस्यामा परेका छन्।

यता बुढापाकाहरू भने विगतका खडेरीका समयलाई सम्झिरहेका छन्। उनीहरूका अनुसार पहिले चैत, वैशाख र जेठ महिनामा लामो खडेरी पर्दा गाउँघरमा भूमे पूजा, जलधारा गर्ने , देवी–देवताका पूजा–पाठ तथा वर्षाको कामना गर्दै विभिन्न धार्मिक अनुष्ठान गर्ने चलन थियो। कतिपय स्थानमा भ्यागुताको विवाह गराउने परम्परा समेत रहेको उनीहरू बताउँछन्।

स्थानीय ज्येष्ठ नागरिकहरू भन्छन्, “पहिला खडेरी पर्दा भ्यागुताको विवाह गराउने चलन थियो। अहिले पनि असारमै यति ठूलो खडेरी परेपछि गाउँघरमा फेरि त्यसको चर्चा हुन थालेको छ।”

असार महिना कृषि उत्पादनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। तर यस वर्षको खडेरीले धान रोपाइँ, पशुपालन, कुखुरापालन तथा ग्रामीण अर्थतन्त्रमा प्रतिकूल असर पार्न थालेको छ। किसान तथा व्यवसायीहरू समयमै पर्याप्त वर्षा भई जनजीवन सामान्य बन्ने आशामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0