बद्री पौडेल , धादिङ , असार ५ , २०८३
धादिङको गजुरी गाउँपालिका–१ बरेछापस्थित हिरा बस्यालको घरमा असार ३ गते आयोजित बच्चाको न्वारान को भोजमा सहभागी भएका २१ जना व्यक्तिमा झाडापखाला तथा बान्ताको समस्या देखिएको छ। घटनापछि गजुरी गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले उपचार, निगरानी तथा थप अनुसन्धानलाई तीव्र बनाएका छन्।
गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार न्वारान को भोजमा सहभागी भएका व्यक्तिहरूमा अचानक झाडापखाला र बान्ताको समस्या देखिएपछि उनीहरूको उपचार सुरु गरिएको थियो। स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मी. सङ्गिता कडेलका अनुसार अधिकांश बिरामीहरूको गजुरी अस्पतालमा उपचार गरिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका अनुसार प्रभावितमध्ये ९ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको थियो भने १ जनाको गजुरी अस्पतालमा उपचार गरिएको थियो। अन्य बिरामीहरू उपचारपछि घर फर्किसकेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीका अनुसार प्रारम्भिक रूपमा गरिएको र्यापिड टेस्ट किट परीक्षणमा २ जनाको नमुनामा Vibrio cholerae (हैजा गराउने जीवाणु) पोजिटिभ देखिएको छ। तर हालसम्म हैजा (कोलेरा) औपचारिक रूपमा पुष्टि भइसकेको छैन। अन्तिम पुष्टि गर्न नमुनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको र प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ।
गजुरी गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भोजमा प्रयोग गरिएको खानेपानी वा खाद्य पदार्थ दूषित भएका कारण संक्रमण फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट पानी तथा अन्य नमुनाहरू संकलन गरी थप अनुसन्धान भइरहेको छ।
स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार हाल बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ र अवस्था नियन्त्रणमा छ। यद्यपि प्रयोगशालाको अन्तिम प्रतिवेदन नआएसम्म सतर्कता अपनाइएको छ।
गजुरी गाउँपालिका स्वास्थ्य शाखा तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले स्थानीयवासीलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्न, खाना राम्रोसँग पकाएर खान तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै झाडापखाला, बान्ता, ज्वरोलगायतका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।






