धादिङ, असार ५ – धादिङ अस्पतालमा सडक दुर्घटना तथा विपद्–महामारी उपचार व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। अस्पतालको वार्षिक कार्ययोजनाअनुसार सञ्चालन गरिएको कार्यक्रममा वर्षभरि सम्पादन भएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा अपनाउनुपर्ने तयारीका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा धादिङ अस्पतालले विपद् तथा आपतकालीन अवस्थामा Emergency Medical Team (EMT) परिचालन गर्दै आएको जानकारी दिएको छ। प्राकृतिक विपद्, सडक दुर्घटना तथा महामारीजन्य अवस्थाको समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन EMT टोली सक्रिय रूपमा परिचालन हुने अस्पतालले जनाएको छ।
छलफलका क्रममा वर्षायाम सुरु भएसँगै बाढी, पहिरो लगायतका सम्भावित प्राकृतिक विपद्का जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारीका विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो। साथै, वर्षाको समयमा डेङ्गु र स्क्रब टाइफस संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले रोग नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक तयारीबारे पनि समीक्षा गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले वर्षात्को समयसँगै जोखिम उच्च हुन सक्ने भएकाले सबै सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभयो। उहाँले सम्भावित विपद्को समयमा प्रभावकारी समन्वय, शीघ्र उद्धार तथा स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन महासेठले विपद् तथा महामारीको अवस्थामा तत्काल परिचालन गर्न आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपकरणहरू तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। तर, विपद् वा महामारीका बेला ती सामग्री प्रयोग भइसकेपछि पुनः प्रतिस्थापन (रिप्लेस) गर्न आवश्यक स्रोतको अभाव हुने गरेको भन्दै यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद् र महामारीको समयमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि समन्वय, पूर्वतयारी र स्रोत व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0