धादिङ, असार ५ ,२०८३

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार सम्पन्न १९औँ गाउँसभा मा गाउँपालिका अध्यक्ष राजु उप्रेती ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष देवराज धरेल ले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय तथा बजेट विवरण सार्वजनिक गर्नुभएको थियो।

कार्यक्रम गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर सिंह भन्डारीले गर्नु भएको थियो ।

बजेट अनुसार आर्थिक विकास क्षेत्र अन्तर्गत ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये कृषि विकासतर्फ १५ लाख, पशु विकासतर्फ १० लाख, सहकारी प्रवर्द्धनतर्फ ३ लाख, पर्यटन प्रवर्द्धनतर्फ १५ लाख तथा श्रम तथा रोजगारी सिर्जनातर्फ ५ लाख रुपैयाँ छुट्याइएको छ।

सामाजिक विकास क्षेत्र अन्तर्गत कुल ४ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रका लागि ३ करोड, स्वास्थ्यतर्फ १ करोड ५० लाख, महिला, बालबालिका तथा लक्षित समूहका लागि २० लाख, युवा, खेलकुद तथा नवप्रवर्तनका लागि १० लाख र जीविकोपार्जन तथा उत्थानशीलता विकासका लागि १० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

त्यसैगरी पूर्वाधार विकास क्षेत्र मा कुल १३ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमा समपूरक अनुदान साझेदारीतर्फ ३ करोड ३० लाख, दायित्व स्थानान्तरणतर्फ ३ करोड, पालिकास्तरीय योजनातर्फ १ करोड ३७ लाख तथा सार्वजनिक–निजी साझेदारीतर्फ ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले वडागत बजेट सिलिङ अन्तर्गत कुल २ करोड ४५ लाख रुपैयाँ प्रस्ताव गरेको छ। गाउँपालिका अन्तर्गतका ७ वटै वडालाई समान रूपमा प्रति वडा ३५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा कुल ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत विपद् व्यवस्थापनका लागि ३५ लाख, जैविक विविधता संरक्षणका लागि ३ लाख तथा फोहोरमैला व्यवस्थापनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह शीर्षकमा कुल ९ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमा कार्यालय सञ्चालन तथा सेवा प्रवाहका लागि ९ करोड २० लाख, सुशासन तथा संस्थागत विकासका लागि ६० लाख र न्यायिक समितिका लागि ८ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

गाउँसभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ६८ करोड ४९ हजार रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म चालुतर्फ ४३ करोड २१ लाख ६२ हजार रुपैयाँमध्ये २९ करोड ५६ लाख ८२ हजार तथा पुँजीगततर्फ २४ करोड ७८ लाख ८७ हजारमध्ये ८ करोड ७ लाख ८ हजार रुपैयाँ खर्च भएको छ। हालसम्म कुल ३७ करोड ६३ लाख ९० हजार रुपैयाँ खर्च भएको उपाध्यक्ष धरेलले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष राजु उप्रेती ले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध त्रिपुरासुन्दरी निर्माणको आधार तयार गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँको भनाइ थियो।

गाउँसभामा आर्थिक विधेयक, २०८३ (संशोधनसहित) तथा बजेट कार्यान्वयनका लागि तयार गरिएको विनियोजन विधेयक, २०८३ समेत प्रस्तुत गरिएको थियो। बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ भने प्रस्तावित बजेटमाथि थप छलफल तथा पारित गर्न गाउँसभाको अर्को बैठक असार ३० गते बस्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0