बिश्वास सिलवाल , धादिङ , असार ६  ,२०८३ साल

नीलकण्ठ नगरपालिका–९ सल्लाघारीमा शनिबार सरसफाइ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी जिल्ला कार्यसमिति धादिङको आयोजनामा तथा नीलकण्ठ नगरपालिका–९ वडा कार्यालय र लहरेपाखा सामुदायिक वनको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा विद्यार्थी, स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सल्लाघारी क्षेत्र तथा आसपासका स्थानमा संकलित फोहोर व्यवस्थापन गर्दै वातावरणीय सरसफाइको सन्देश प्रवाह गरेका थिए।

लहरेपाखा सामुदायिक वन उपभोक्ता समितिका सहसचिव केशव प्रसाद दुवाडीका अनुसार ३१ दिनसम्म सञ्चालन भएको नृसिंहधाम मेलाका क्रममा नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत आएका भक्तजनहरूको ठूलो उपस्थितिका कारण क्षेत्रमा उल्लेख्य मात्रामा फोहोर जम्मा भएको थियो। मेलाको अवधिमा भक्तजन बसोबास, दैनिक उपभोग्य वस्तु तथा तरकारीको खरिद–बिक्री, पिकनिक तथा अन्य गतिविधि सञ्चालन भएकाले फोहोर व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।

दुवाडीले समय अभावका कारण तत्काल सरसफाइ गर्न नसकिएको अवस्थामा विद्यार्थीहरूको सक्रियतामा सरसफाइ अभियान सञ्चालन हुनु निकै सकारात्मक र उदाहरणीय कार्य भएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिका–९ का वडा अध्यक्ष राजन बरालीले सरसफाइ अभियानमा सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले हरेक हप्ता यस प्रकारका अभियान सञ्चालन गर्न सके वातावरण संरक्षणसँगै नागरिकमा स्वच्छताप्रतिको चेतना अझ बढ्ने बताए।

वडा कार्यालयका अनुसार संकलित फोहोरमध्ये केही फोहोर तत्काल व्यवस्थापनका लागि जलाउने विषयमा छलफल भए पनि स्वास्थ्य र वातावरणीय दृष्टिकोणले फोहोर जलाउनु उपयुक्त नहुने भएकाले आगामी दिनमा व्यवस्थित डम्पिङ साइटमार्फत फोहोर व्यवस्थापन गरिने जानकारी दिइएको छ।

आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नीलकण्ठ नगरपालिका–९ वडा कार्यालय, लहरेपाखा सामुदायिक वन, सहभागी विद्यार्थी, स्थानीयवासी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ। साथै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणका यस्ता अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0